श्रद्धा र भक्तिपूर्वक आज ‘गुरु पूर्णिमा’ र ‘व्यास जयन्ती’ मनाइँदै

काठमाडौँ, साउन १३ ।  आषाढ शुक्ल पूर्णिमाका दिन आज देशभर ज्ञान र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान प्रकट गर्दै ‘गुरु पूर्णिमा’ पर्व मनाइँदैछ । आफूलाई अन्धकारबाट उज्यालोतर्फ डोर्‍याउने गुरुको ऋण सम्झिँदै आजका दिन गायत्री, दीक्षा र वेद मन्त्र सुनाउने गुरुहरूप्रति कृतज्ञता व्यक्त गर्ने गरिन्छ।

गुरुको महिमा र अर्थ
तन्त्र तथा धर्मशास्त्रका अनुसार ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हो। अर्थात्, जसले शिष्यको जीवनबाट अज्ञानताको अन्धकार हटाएर ज्ञानको प्रकाश फैलाउँछन्, उनैलाई ‘गुरु’ भनिन्छ । शास्त्रहरूमा गुरुलाई ब्रह्मा, विष्णु र महेश्वर (महादेव) का रूपमा सम्मान गरिएको छ । प्रचलित श्लोक ‘गुरुब्रह्मा गुरुविष्णु गुरुदेवो महेश्वरः, गुरुः साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमः’ ले गुरुको उच्च स्थानलाई स्पष्ट पार्छ । हाम्रो संस्कृतिमा आमाबुवालाई जस्तै गुरुलाई पनि ‘आचार्यदेवो भव’ भन्दै देवता समान मान्ने परम्परा छ ।

व्यास जयन्तीको महत्त्व
आजकै दिन पौराणिक ग्रन्थका रचयिता वेद व्यासको जन्म भएकाले यसलाई ‘व्यास जयन्ती’ का रूपमा पनि मनाइन्छ। व्यासले नै कठिन मानिने वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरेका थिए। उनले १८ पुराण, १८ उपपुराण र ‘पाँचौँ वेद’ मानिने महाभारतको समेत रचना गरी मानव जातिलाई ज्ञानको मार्गदर्शन गराएका छन् ।

व्यासको प्रसिद्ध सन्देश ‘परोपकार पुण्याय, पापाय परपीडनम्’ ले अरूको सेवा गर्नुलाई पुण्य र अरूलाई दुःख दिनुलाई पापका रूपमा व्याख्या गर्दै मानवताको बाटो देखाएको छ ।

विविध कार्यक्रमहरू
गुरु पूर्णिमाको अवसरमा आज देशभरका विद्यालय, विश्वविद्यालय, गुरुकुल तथा विभिन्न धार्मिक र सामाजिक संघसंस्थाहरूले विशेष कार्यक्रमको आयोजना गरेका छन् । यसै सन्दर्भमा नेपाल महर्षि वैदिक फाउन्डेसनले चम्पादेवीस्थित ब्रह्मानन्द सरस्वती ग्राममा विशेष कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा गुरु पूर्णिमाको महत्त्वबारे चर्चा गरिने फाउन्डेसनका अध्यक्ष एवं पूर्वमन्त्री दीपकप्रकाश बास्कोटाले जानकारी दिनुभएको छ ।