देशभर मनसुन सक्रिय : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, साउन १३ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थान आसपास र पश्चिमी भूभागमा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित रहेकाले मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।

हालको मौसमी अवस्था
महाशाखाका अनुसार अहिले कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको छ भने मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बदली छ। बागमती, कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसोको पूर्वानुमान
आज दिउँसो देशभरका हिमाली तथा पहाडी भूभाग र बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहनेछ। पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

विशेष गरी कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा पनि भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ । हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा र हिमपातको समेत सम्भावना छ ।

रातिको पूर्वानुमान
आज राति देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशका अन्य पहाडी तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारी वर्षा र चट्याङको सम्भावना रहेका क्षेत्रहरूमा आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।