सुनसरीको देवानगन्ज घटना: संसद्मा एमालेको प्रश्न, ‘शान्ति सुरक्षाको साटो सरकार आफैँ त्रास फैलाउन लाग्यो’

काठमाडौँ, ११ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सुनसरीको देवानगन्जमा भएको गोलीकाण्ड र त्यसपछि उत्पन्न तनावग्रस्त परिस्थितिलाई लिएर सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकार शान्ति सुरक्षा कायम गर्ने र दङ्गा नियन्त्रण गर्ने दायित्वबाट पन्छिएर आफैँ त्रासको वातावरण सिर्जना गर्न उद्दत रहेको आरोप लगाउनुभयो। उहाँले सबै सरोकारवाला, धार्मिक अभियन्ता तथा नागरिकहरूलाई उत्तेजना र प्रतिशोध त्यागी धैर्यता र संयमता अपनाउन अपिल गर्नुभयो।

प्रहरीको गोली लागेर युवकको मृत्यु भएको विषयमा बोल्दै उपनेता अर्यालले विगतमा काठमाडौँमा गोली चल्दा वा मानिसको मृत्यु हुँदा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्ने वा कानुनी कारबाहीको माग गर्नेहरूले आज सुनसरीमा भएको घटनाको नैतिक र कानुनी जिम्मेवारी लिनुपर्ने माग गर्नुभयो। “अरूलाई फौजदारी कसुर थोपर्नेहरू आज यस घटनाको जिम्मेवारी लिन तयार हुनुपर्छ,” उहाँले भन्नुभयो।

देशमा अशान्ति र दङ्गा मच्चिइरहँदा प्रधानमन्त्री गुमनाम बसेको भन्दै उहाँले आलोचना गर्नुभयो। प्रधानमन्त्रीको पद केवल सिंहदरबार सजाउनका लागि मात्र नभएको टिप्पणी गर्दै उहाँले जनता पीडामा परेका बेला नेतृत्व अग्रपङ्क्तिमा देखिनुपर्ने र सुरक्षा सुनिश्चित गर्नुपर्ने बताउनुभयो।

उपनेता अर्यालले विगतमा कैलालीको टीकापुर, रौतहटको गौर र नेपालगन्ज लगायतका संवेदनशील घटनाहरूलाई देशले संयमतापूर्वक झेलेको स्मरण गराउँदै मुलुकलाई सुदृढ बनाउन र जनतामा आशा जगाउन सरकारले प्रभावकारी योजना ल्याए एमाले काँधमा काँध मिलाएर सहयोग गर्न तयार रहेको स्पष्ट पार्नुभयो।