नारायणी अस्पतालका चिकित्सकद्वारा सामूहिक राजीनामा, आकस्मिक सेवासमेत ठप्प

वीरगन्ज, १२ साउन । वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकहरूले कार्यक्षेत्रमा भएको असुरक्षा र स्थानीय प्रशासनको दुर्व्यवहारको विरोध गर्दै सामूहिक राजीनामा दिएका छन् । गत शनिबार अस्पतालमा भएको तोडफोड र चिकित्सकमाथिको कुटपिटपछि सिर्जित विवादले उग्र रूप लिँदा चिकित्सकहरूले आकस्मिक सेवासमेत बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।

अस्पतालका वरिष्ठ चिकित्सक डा. उदयनारायण सिंहका अनुसार अस्पतालमा कार्यरत कुल ७० चिकित्सकमध्ये ४० जनाले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाइसकेका छन् । अन्य चिकित्सकहरूको पनि हस्ताक्षर सङ्कलन भइरहेको र सबैले सामूहिक रूपमा पद त्याग गर्ने तयारी गरेका छन् ।

चिकित्सकहरूले पर्साका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखको राजीनामालाई मुख्य सर्त बनाएका छन् । सोमबार स्वास्थ्य मन्त्रालयको आग्रहमा आकस्मिक सेवा सुचारु गर्न र वार्ताका लागि प्रशासन कार्यालय पुगेका चिकित्सकहरूलाई सीडीओ र एसपीले अपराधीलाई जस्तो व्यवहार गरेको उनीहरूको आरोप छ ।

“वार्ताका क्रममा दोषीमाथि कारबाहीको माग गर्दा सीडीओ र एसपीले उल्टै हामीप्रति अपशब्द प्रयोग गर्दै प्रहरी लगाएर घेरा हाल्न लगाउनुभयो,” डा. सिंहले भन्नुभयो, “हाम्रो मोबाइल खोसियो र झन्डै एक घण्टा नियन्त्रणमा राखियो । यस्तो अपमानजनक र असुरक्षित वातावरणमा कसरी काम गर्न सकिन्छ ?”

सामूहिक राजीनामासँगै अहिले नारायणी अस्पतालको आकस्मिक सेवासमेत ठप्प भएको छ । चिकित्सकहरूले सीडीओ र एसपी पदमा रहुञ्जेल आफूहरू काममा नफर्कने अडान लिएका छन् । यसले गर्दा उपचारका लागि अस्पताल पुगेका बिरामीहरू गम्भीर मर्कामा परेका छन् ।

यसैबीच, नेपाल चिकित्सक सङ्घले पनि वीरगन्जको घटना र प्रशासनको व्यवहारको विरोध गर्दै आज (मङ्गलबार) देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ ।

गत साउन ८ गते नारायणी अस्पतालका मेडिकल अफिसर डा. प्रमोद राममाथि साङ्घातिक आक्रमण भएपछि चिकित्सकहरू आन्दोलित भएका हुन् । घाइते डा. रामको हाल काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सरकारले दोषीमाथि कारबाही गर्ने आश्वासन दिए पनि प्रशासनिक नेतृत्वको व्यवहारले स्थिति झन् जटिल बनेको छ ।