नारायणगढ–मुग्लिन सडक पहिरो पन्छाएपछि दुईतर्फी खुल्यो

चितवन, १२ साउन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको मुग्लिन नजिकै खसेको सुक्खा पहिरो पन्छाएपछि अवरुद्ध सडक पुनः सञ्चालनमा आएको छ ।

इच्छाकामना गाउँपालिका–५ स्थित खहरे खोलामा आज बिहान ८:३० बजे सडकभन्दा करिब ४० मिटर माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । झन्डै पाँच घण्टाको निरन्तर प्रयासपछि दिउँसो १:१५ बजेदेखि सडक दुईतर्फी रूपमै सञ्चालनमा आएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो पन्छाउन नारायणगढ र मुग्लिन दुवैतर्फबाट लोडर, स्काभेटर र ब्याक–हु लोडरको प्रयोग गरिएको थियो । बिहान ११:१५ बजे एकतर्फी बाटो खुलाएर अत्यावश्यक एम्बुलेन्स र मोटरसाइकलहरू पार गराइएको थियो भने दिउँसोबाट दुवैतर्फका सवारी साधनहरू सुचारु गरिएको हो ।

पहिरो पन्छाएसँगै सडकमा लामो समयदेखि रोकिएका सयौँ सवारी साधन र यात्रुहरू आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका छन् । वर्षायाममा यस सडकखण्डमा पटक–पटक पहिरो खस्ने जोखिम रहेकाले सावधानीपूर्वक यात्रा गर्न ट्राफिक प्रहरीले सबैमा अनुरोध गरेको छ ।