दिगो र प्रयोगकर्तामैत्री विद्युतीय शासनका लागि कार्यवाहक प्रमुख सुनिता डंगोल : एकीकृत प्रणाली विकासमा जोड
काठमाडौँ, साउन १४ । काठमाडौँ महानगरपालिकाले नागरिकलाई प्रदान गर्ने विद्युतीय सेवालाई थप सरल, प्रभावकारी र झन्झटमुक्त बनाउन एकीकृत प्रविधि र दिगो पूर्वाधार विकासको योजना अघि बढाएको छ । कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा आज बसेको उच्चस्तरीय बैठकले इन्टरनेट र सर्भरका कारण उत्पन्न हुने अवरोधलाई दीर्घकालीन रूपमा समाधान गर्न एकीकृत प्रणाली र प्रयोगकर्तामैत्री विद्युतीय शासनमा जोड दिएको हो ।
मन्त्रालयमा आयोजित उक्त बैठकमा एकीकृत डाटा व्यवस्थापन केन्द्रका प्रमुख मनिष भट्टराई, महानगरको सहरी योजना आयोगका सदस्यहरू, सूचना प्रविधि विभागका प्रमुख तथा सफ्टवेयर डेभलपमेन्ट सेन्टरका अधिकारीहरूको सहभागिता रहेको थियो। बैठकमा विशेष गरी वडा तहबाट बारम्बार गुनासो आउने इन्टरनेट र सर्भरको सुस्ततालाई शून्यमा झार्ने र सेवा प्रवाहमा पारदर्शिता कायम गर्ने विषयमा घनिभूत छलफल भएको छ ।
अवरोध भए पूर्व जानकारी दिन निर्देशन
बैठकलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले प्राविधिक समस्याका कारण नागरिकले दुःख पाउन नहुने स्पष्ट पार्नुभयो । “इन्टरनेट नचलेका कारण सेवाग्राहीले सास्ती भोग्नुपर्ने अवस्था अब आउनु हुँदैन ।” उहाँले भन्नुभयो, “यदि काबु बाहिरको परिस्थितिका कारण सेवा अवरुद्ध हुने भएमा सेवाग्राहीलाई तत्काल पूर्व जानकारी दिनू, तर एकछिनमा काम हुन्छ भनेर नागरिकलाई नअल्मल्याउनू ।” उहाँले आवश्यक पूर्वाधार र प्रविधि सुधारका लागि तत्काल कदम चाल्न सूचना प्रविधि विभागका अधिकारीहरूलाई निर्देशन दिनुभयो ।
महानगरलाई आफ्नै डाटा सेन्टर बनाउन सुझाव
छलफलका क्रममा एकीकृत डाटा व्यवस्थापन केन्द्रका प्रमुख मनिष भट्टराईले सरकारी क्लाउडको कुल क्षमताको करिब ४० प्रतिशत हिस्सा काठमाडौँ महानगरले मात्र प्रयोग गरिरहेको जानकारी दिनुभयो । उहाँले महानगरको कार्यभार ठूलो भएकाले र साझा प्रणालीमा समस्या आउँदा सेवा प्रभावित हुने भएकाले महानगरपालिकालाई आफ्नै ‘डाटा सेन्टर’ खरिद गर्न सुझाव दिनुभयो। “महानगरपालिकाले आफ्नै प्रणाली सञ्चालन गरेमा सेवा थप सुरक्षित र द्रुत हुनेछ, यसको सुरक्षा र सञ्चालनका लागि हामी प्राविधिक सहयोग गर्न तयार छौँ ।” भट्टराईले भन्नुभयो ।
एकै लगइनबाट ४५ वटा सेवा: ‘सिंगल साइन-अन’ प्रणाली
हाल महानगरले ४५ भन्दा बढी अनलाइन प्रणालीहरू कार्यान्वयनमा ल्याएको छ। सेवाग्राहीले प्रत्येक सेवाका लागि फरक-फरक आईडी र पासवर्ड सम्झनुपर्ने झन्झट अन्त्य गर्न महानगरले अहिले ‘सिङ्गल साइन-अन ‘ प्रणाली विकास गरिरहेको छ । यो प्रणाली लागू भएपछि नागरिकले एउटै लगइनबाट महानगरका सम्पूर्ण ई-गभर्नेन्स सेवाहरू प्रयोग गर्न सक्नेछन् ।
यसैगरी, एकीकृत डाटा व्यवस्थापन केन्द्रमा रहेका महानगरका ७१ वटा भर्चुअल मेसिन र सार्वजनिक आईपीहरूको पुनरावलोकन गरी प्रयोगविहीन मेसिनहरू हटाउने निर्णय समेत भएको छ । यसबाट सर्भरको भार कम हुने र सरकारी स्रोतको बचत हुने अपेक्षा गरिएको छ ।
अन्तर-निकाय समन्वय र अत्याधुनिक प्रविधिको प्रयोगमार्फत काठमाडौँ महानगरपालिकाले आफूलाई ‘डिजिटल महानगर’ को रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ ।