बाढीपहिरो र सडक कटानले मुलुकका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ, १५ साउन । अविरल वर्षासँगै आएको बाढी, पहिरो र सडक कटानका कारण मुलुकका विभिन्न प्रमुख राजमार्ग तथा सहायक सडकखण्डहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले आज बिहान ६:०० बजेसम्मको विवरण सार्वजनिक गर्दै वर्षाका कारण उत्पन्न जोखिमले सडक आवागमन प्रभावित भएको जनाएको हो।

प्रहरीका अनुसार बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६:०० बजेदेखि बिहान ४:०० बजेसम्मका लागि सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। यस्तै, कान्ति लोकपथमा पनि बेलुका ५:०० देखि बिहान ५:०० बजेसम्म सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ।

अरनिको राजमार्गमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेकाले सडक पूर्ण रूपमा ठप्प छ। कान्ति लोकपथ र कुलेखानी सडककाे ललितपुरको बागमती गाउँपालिकामा सुक्खा पहिरो तथा इन्द्रसरोवर–४ महालक्ष्मी खोला नजिक पहिरो खसेका कारण भीमफेदी–कुलेखानी–काठमाडौँ सडक अवरुद्ध भएका छन्।

मेची र पासाङ ल्हामु राजमार्गकाे इलाममा सडक हिलाम्मे भएर मेची राजमार्ग र रसुवाको खाल्टेमा त्रिशूली नदीले सडक कटान गरेपछि पासाङ ल्हामु राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। बेनी–जोमसोम र जाजरकोट–डोल्पा सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकामा आज बिहानै खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध छ भने जाजरकोटको मूलपानी खोलामा आएको बाढीले सडक कटान गर्दा डोल्पा जोड्ने सडक पनि बन्द भएको छ।

लामासाँघु–रामेछाप सडककाे दोलखा किर्नेटारमा सामाकोशी खोलाले सडक कटान गरेपछि यातायात सेवा प्रभावित भएको छ।
वर्षा नरोकिएका कारण कतिपय स्थानमा पहिरो पन्छाउन र सडक मर्मत गर्न कठिनाइ भइरहेको सडक विभागले जनाएको छ।