सुनसरी देवानगञ्ज घटनाकाे उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्न मधेशी दलहरूको माग
काठमाडौँ, १४ साउन । मधेश केन्द्रित विभिन्न राजनीतिक दल तथा नेताहरूले सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिन गरी पीडितलाई न्याय दिन र सामाजिक सद्भाव कायम राख्न सरकारसँग अपिल गरेका छन् ।
बिहीबार एक संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्न माग गरेका हुन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो, जनमत पार्टीका उपाध्यक्ष जयकान्त राउत, राष्ट्रिय निर्माण दलका अध्यक्ष समिम अन्सारी र संविधानसभा सदस्य रामकुमार शर्माले संयुक्त अपिल जारी गर्दै घटनाको सत्यतथ्य पारदर्शी ढङ्गले सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
संयुक्त वक्तव्यमा साम्प्रदायिक तनाव जस्तो संवेदनशील अवस्थामा राज्यका निकायहरूले संयम र निष्पक्षता अपनाउनुपर्नेमा प्रहरीले दमन गरेको भन्दै गम्भीर प्रश्न उठाइएको छ । प्रधानमन्त्री पाँच दिनसम्म मौन बसेको र गृहमन्त्रीको गतिविधि शङ्कास्पद देखिएको दाबी गर्दै नेताहरूले प्रधानमन्त्रीले तत्काल राष्ट्रका नाममा सम्बोधन गरी शान्ति, सद्भाव र कानुनी शासनप्रति नागरिकलाई आश्वस्त पार्नुपर्ने माग गरेका छन् ।
सहिद घोषणा र क्षतिपूर्ति: घटनामा ज्यान गुमाएका व्यक्तिलाई सहिद घोषणा गरी उचित क्षतिपूर्ति दिनुका साथै परिवारको दीर्घकालीन जीविकोपार्जनका लागि रोजगारी र सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने ।
२. अधिकारीहरूको निलम्बन: दमनमा संलग्न रहेको आरोप लागेका प्रहरी तथा प्रशासनिक अधिकारीहरूलाई अनुसन्धान अवधिभर निलम्बन गरी बल प्रयोगको औचित्यमाथि छानबिन गर्नुपर्ने ।
३. बाह्य तत्वको अनुसन्धान: घटनामा कुनै बाह्य तत्व, रोहिङ्गया वा सङ्गठित समूहको संलग्नता भए नभएको विषयमा स्वतन्त्र अनुसन्धानमार्फत स्पष्ट पार्नुपर्ने ।
४. निःशुल्क उपचार: घाइतेहरूको सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्नुपर्ने र प्रभावित परिवारलाई तत्काल राहतको व्यवस्था गर्नुपर्ने ।
सद्भाव कायम राख्न अपिल
मधेश केन्द्रित दलहरूले सम्पूर्ण नागरिकलाई संयम र धैर्यता अपनाउन तथा सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन् । कुनै पनि प्रकारको अफवाह, घृणा वा उत्तेजना फैलाउने गतिविधिबाट टाढा रही सत्य र कानुनको पक्षमा उभिन उनीहरूले सबैमा आग्रह गरेका छन् ।