सुर्खेतमा अटोको ठक्करबाट घाइते पैदल यात्रीको उपचारका क्रममा मृत्यु

काठमाडौँ, साउन १४ । सुर्खेतको वीरेन्द्रनगरमा अटो रिक्साको ठक्करबाट गम्भीर घाइते भएका एक पैदल यात्रीको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका ११ का ६० वर्षीय रत्न विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्रसिंह बोहोराका अनुसार आज बिहान वीरेन्द्रनगर ११ स्थित धुलियाबिट नजिकैको भित्री सडक खण्डमा क प्र ०२००१ स १०९४ नम्बरको अटोले विकलाई ठक्कर दिएको थियो ।

अटोको ठक्करबाट टाउको र ढाडमा गम्भीर चोट लागेका विकलाई तत्काल उपचारका लागि स्थानीय कर्णाली केयर अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उहाँलाई थप उपचारका लागि नेपालगञ्ज नर्सिङ होम र त्यसपछि भारतको लखनउस्थित सिटी अस्पताल रेफर गरिएको थियो ।

लखनउ लैजाँदै गर्दा बाटोमै उहाँको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोहोराले जानकारी दिनुभयो । ठक्कर दिने अटो र २३ वर्षीय चालक राजु सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।