तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, १५ साउन । नेपालमा मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा प्राकृतिक प्रकोपको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। अहिले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भू–भागमा सामान्य बदली रहेको छ भने कोशी, बागमती, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ। देशका पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ। विशेष गरी बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। तराईका जिल्लाहरूमा पनि मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशभरको मौसममा सुधार हुने देखिँदैन। राति कोशी प्रदेशका पहाडी र तराई भू–भागका साथै बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ। देशका अन्य भू–भागमा पनि हल्कादेखि मध्यम वर्षा जारी रहने देखिन्छ।