साम्प्रदायिक सद्भाव कायम राख्न विराटनगरमा ‘सद्भाव र्याली’ निकालिने : सर्वपक्षीय बैठकको निर्णय
विराटनगर, १४ साउन । सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्जमा भएको हिंसात्मक झडपपछि उत्पन्न असहज परिस्थितिलाई मत्थर पार्न र साम्प्रदायिक सद्भाव कायम राख्न भोलि शुक्रबार विराटनगरमा बृहत् ‘सद्भाव र्याली’ निकालिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङमा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको अध्यक्षतामा आज बसेको सर्वपक्षीय बैठकले आम नागरिकहरूको सहभागितामा र्याली निकाल्ने निर्णय गरेको हो ।
भोलि साउन १५ गते शुक्रबार अपराह्न ३:०० बजे महेन्द्र चोकबाट सुरु हुने र्याली ट्राफिक चोक, पञ्चमुखी हनुमान मन्दिर, वडा प्रहरी कार्यालय (क) हुँदै जिल्ला प्रशासन कार्यालय अगाडिको डाँफे चोकमा पुगेर समापन हुनेछ । र्यालीमा सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक तथा सामाजिक सङ्घसंस्था, सञ्चारकर्मी, युवा, व्यवसायी र विभिन्न धार्मिक समुदायका प्रतिनिधिहरूलाई सहभागी हुन आह्वान गरिएको छ ।
बैठकले गत साउन १० गते देवानगञ्जमा दुई समुदायबीच भएको विवाद र झडपमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै, सो घटनामा घाइते भई विभिन्न अस्पतालमा उपचाररत व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उपचारमा सहजीकरणका लागि अस्पताल प्रशासनसँग आवश्यक समन्वय गर्ने निर्णय समेत गरेको छ ।
यसैगरी, समाजमा धार्मिक वा सामाजिक सद्भाव विथोलिने खालका कुनै पनि गतिविधि, सूचना वा अवस्था देखिएमा तत्काल सुरक्षा निकायलाई जानकारी दिने र त्यस्ता भ्रमपूर्ण कुराहरूलाई निरुत्साहित गर्न सबै पक्षले आ–आफ्नो तर्फबाट सहयोग र सहजीकरण गर्ने सामूहिक प्रतिबद्धता जनाइएको छ ।
सुनसरीमा भएको घटनापछि छिमेकी जिल्ला मोरङमा समेत साम्प्रदायिक तनाव बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रशासनले पूर्वसतर्कता र सद्भाव कायम राख्न यो पहल थालेको हो ।