सप्तरीको राजविराज र बोदेबरसाइनमा अनिश्चितकालीन कर्फ्यु जारी
राजविराज, १५ साउन । सुनसरीको देवानगन्जमा भएको घटनाको बाछिटा छिमेकी जिल्लाहरूमा समेत देखिन थालेपछि सप्तरीको राजविराज र बोदेबरसाइन क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले आज (शुक्रबार) बिहान ८ बजेदेखि लागू हुने गरी राजविराज क्षेत्रमा कर्फ्यु लगाएको हो । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार अर्को आदेश नभएसम्मका लागि यो व्यवस्था कायम रहनेछ । यसअघि बोदेबरसाइन नगरपालिका क्षेत्रमा भने बिहीबार राति १० बजेदेखि नै अनिश्चितकालीन कर्फ्यु लागू गरिएको थियो ।
प्रशासनले राजविराज क्षेत्रको कर्फ्युका लागि चार किल्ला तोकेको छ । जसअनुसार पूर्वमा खाँडो खोला, पश्चिममा हुलाकी राजमार्ग अन्तर्गत जमुनी–थलही, उत्तरमा रुपनी रोडस्थित बसविट्टी चोक र दक्षिणमा कोशी पश्चिम मूल नहरसम्मको क्षेत्रमा हिँडडुल र भेला हुन पूर्ण प्रतिबन्ध लगाइएको छ ।
सुनसरीको देवानगन्जमा दुई पक्षबीच भएको झडपपछि मधेशका अन्य जिल्लामा समेत साम्प्रदायिक तनाव र प्रदर्शन बढ्न सक्ने देखिएपछि जिल्ला सुरक्षा समितिले कर्फ्यु लगाउने निर्णय गरेको हो । बोदेबरसाइन क्षेत्रमा कर्फ्युको प्रभावकारी कार्यान्वयनका लागि नेपाली सेनाले समेत गस्ती गरिरहेको छ ।
प्रजिअ थापाद्वारा जारी आदेशमा कर्फ्युको उल्लङ्घन हुने गरी कुनै पनि गतिविधि गरे वा गराएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको छ ।