ब्रोड पिक हिमपहिरोमा परी सम्पर्कविहीन भएका १० आरोहीमध्ये निर्मल पुर्जासहित ६ नेपाली
काठमाडौँ, १५ साउन । उत्तरी पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा आएको भीषण हिमपहिरोमा परी प्रख्यात पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोली सम्पर्कविहीन भएको छ।
पाकिस्तान अल्पाइन क्लबका उपाध्यक्ष करार हैद्रीले बिहीबार राति एक विज्ञप्ति जारी गर्दै निर्मल पुर्जाको नेतृत्वमा रहेको टोली हिमपहिरोमा परेको र त्यसलगत्तै सम्पर्क विच्छेद भएको जानकारी दिनुभएको हो।
सम्पर्कविहीन हुने टोलीमा निर्मल पुर्जासहित छ जना नेपाली आरोही रहेका छन्। अन्य सदस्यहरूमा एक पाकिस्तानी, एक ओमानी, एक अमेरिकी र एक चिनियाँ नागरिक छन्
।
घटनाको जानकारी पाएलगत्तै हराइरहेका आरोहीहरूको खोज तथा उद्धारका लागि पहल सुरु गरिएको छ। पाकिस्तान अल्पाइन क्लबका अध्यक्ष मेजर जनरल इरफान अरशद लगायतका पदाधिकारीहरूले तत्काल उद्धार अभियान सञ्चालन गर्न सरकारी अधिकारीहरूसँग आवश्यक समन्वय गरिरहेको बताइएको छ।
अल्पाइन क्लबका अनुसार सम्पर्कविहीन पर्वतारोहीहरू यसप्रकार छन्ः
नधिरा अहमद अब्दुल्लाह अल हार्थी — ओमान
सोहेल साखी — पाकिस्तान
वाङ जोङ — चीन
मालोरी गाइस — अमेरिका
निर्मल पुर्जा ‘निम्स दाई’ — नेपाल
पुरबहादुर गुरुङ ‘युक्ता’ — नेपाल
किली पेम्बा शेर्पा ‘किलु’ — नेपाल
निमा शेर्पा — नेपाल
नवाङ थिन्डु शेर्पा — नेपाल
ग्यालु शेर्पा — नेपाल