सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न प्याब्सनको अपिल
काठमाडौँ, साउन १५ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) केन्द्रीय कार्यसमितिले मुलुकमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता अक्षुण्ण राख्न सर्वसाधारणमा हार्दिक अपिल गरेको छ ।
सुनसरी जिल्लाको देवानगञ्जमा उत्पन्न विवादले उग्र रूप लिई दुःखद् घटनामा परिणत भएकोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्याब्सनले आज एक प्रेस विज्ञप्ति जारी गरेको हो । विज्ञप्तिमा समाजका सबै वर्ग र समुदायलाई शान्त, संयमित र जिम्मेवार रहन आग्रह गरिएको छ ।
प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारी र महासचिव आरबी कटवालद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, “नेपाली समाजको मौलिक पहिचानको रूपमा रहेको आपसी सद्भाव र धार्मिक सहिष्णुतामा खलल पुग्ने गतिविधि कसैबाट पनि हुनु हुँदैन । राष्ट्रिय एकतालाई बलियो बनाउन यतिबेला सबै नागरिक सचेत र जिम्मेवार हुनुपर्ने आवश्यकता छ।”
प्याब्सनले जुनसुकै समस्याको समाधान संवाद र समझदारीबाट खोज्न आग्रह गर्दै अशान्तिले शैक्षिक वातावरण र समाजको समग्र विकासमा नकारात्मक असर पार्ने समेत उल्लेख गरेको छ ।