ब्रड पिक हिमपहिरो : चार पर्वतारोहीको शव फेला, पहिचान खुल्न बाँकी

काठमाडौँ, १५ साउन । पाकिस्तानको ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परी बेपत्ता भएकामध्ये चार जना पर्वतारोहीको शव फेला परेको छ । उद्धारमा खटिएको स्थलगत टोलीले शवहरू फेला पारेको भए पनि उनीहरूको पहिचान र राष्ट्रियता अझै खुल्न सकेको छैन ।

पाकिस्तान अल्पाइन क्लबका अध्यक्ष इरफान अरशद खानले पनि स्थल उद्धार टोलीले चार वटा शव बरामद गरेको जानकारी दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिए पनि शव फेला परेको विषयमा विस्तृत आधिकारिक प्रतिवेदन आउन बाँकी रहेको बताउनुभएको छ ।

ब्रड पिकमा आएको हिमपहिरोपछि विश्वविख्यात नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) नेतृत्वको १० सदस्यीय टोली सम्पर्कविहीन भएको थियो । सो टोलीमा निम्सदाइसहित ६ जना नेपाली आरोहीहरू रहेको बताइएको छ ।

बेपत्ता आरोहीहरूको खोजीका लागि पाकिस्तानी सेनाको हेलिकप्टर र स्थलगत उद्धार टोलीहरू सक्रिय रूपमा परिचालन गरिएको छ । प्रतिकूल मौसमका बाबजुद उद्धार कार्यलाई तीव्रता दिइएको र फेला परेका शवहरूको पहिचान गर्ने प्रक्रिया सुरु गरिएको छ । पुर्जा नेतृत्वको टोलीमा नेपालीसहित अन्य विभिन्न देशका आरोहीहरू समेत सहभागी थिए ।