काठमाडौँसहित देशभर विविध कार्यक्रमका साथ विश्व आदिवासी दिवस मनाइँदै

काठमाडौँ, २४ साउन । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण गर्ने तथा उनीहरूका समस्याबारे विश्वव्यापी सचेतना जगाउने उद्देश्यले आज नेपालसहित विश्वभर विविध कार्यक्रमका साथ ‘विश्व आदिवासी दिवस’ मनाइँदै छ।

यस अवसरमा सङ्घीय राजधानी काठमाडौँमा विभिन्न आदिवासी जनजाति सङ्घसंस्थाहरूको आयोजनामा झाँकी, बाजागाजा र सांस्कृतिक र्‍यालीसहित प्रभातफेरी कार्यक्रमहरू आयोजना गरिएका छन्।

संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार विश्वका ९० भन्दा बढी देशमा करिब ४७ करोड ६० लाख आदिवासी जनजाति बसोबास गर्दछन्। उनीहरू विश्वको कुल जनसङ्ख्याको छ प्रतिशतभन्दा कम रहे पनि विश्वका सबैभन्दा गरिबमध्ये कम्तीमा १५ प्रतिशत हिस्सा आदिवासी समुदायकै रहेको छ। उनीहरूले विश्वमा बोलिने अनुमानित सात हजार भाषामध्ये ठूलो हिस्सा ओगट्नुका साथै करिब पाँच हजार फरक संस्कृतिको प्रतिनिधित्व गर्दछन्।

आदिवासी जनजाति समुदायले विशिष्ट संस्कृति, परम्परा तथा मानिस र प्रकृतिबीचको सम्बन्धसम्बन्धी आफ्नै रैथाने ज्ञान, सीप र अभ्यासलाई पुस्तौँदेखि पुस्तान्तरण गर्दै संरक्षण गर्दै आएका छन्। आफ्नो विशिष्ट पहिचान, परम्परागत जीवनपद्धति तथा पुर्ख्यौली भूमि, क्षेत्र र प्राकृतिक स्रोतसाधनमाथिको अधिकार प्राप्तिका लागि यस समुदायले लामो समयदेखि आवाज उठाउँदै आएको छ।