आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानका शान्तिवादी चिन्तित, हिरोसिमा र नागासाकी आक्रमणको स्मरण

एजेन्सी, २४ साउन । जापानले सन् १९४५ को विनाशकारी आणविक बम आक्रमणको वार्षिकोत्सव मनाइरहँदा मुलुकको लामो समयदेखिको शान्तिवादी नीतिमाथि चुनौती देखिन थालेको भन्दै शान्तिवादी पक्षधरहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

जापानको संविधानले युद्ध र सैन्य शक्तिको प्रयोगलाई त्यागेको छ। जापानले विगत लामो समयदेखि आणविक हतियार नराख्ने, उत्पादन नगर्ने र आफ्नो भूमिमा भित्रिन नदिने तीन गैर–आणविक सिद्धान्त पालना गर्दै आएको छ। तर, पूर्वी एसियामा चीनको बढ्दो सैन्य क्षमता र जापानको प्रमुख सुरक्षा साझेदार अमेरिकाको विश्वसनीयतामाथि उठिरहेका प्रश्नहरूका कारण यो नीति हाल दबाबमा परेको हो।

जापानी प्रधानमन्त्री सानाए ताकाइचीले तीन गैर–आणविक सिद्धान्तप्रतिको सरकारको भावी अडान स्पष्ट पार्न अस्वीकार गर्नुभएको छ भने रक्षामन्त्री शिन्जिरो कोइजुमीले आणविक हतियारसम्बन्धी विषयमा बन्देजरहित खुला छलफल हुनुपर्ने धारणा राख्नुभएको छ।
हिरोसिमा आणविक बम आक्रमणबाट बाँच्नुभएका ८२ वर्षीय अभियानकर्मी सातोशी तानाकाले जापानको आणविकविरोधी प्रतिबद्धता परिवर्तन हुन सक्ने आशङ्काले आफूलाई चिन्तित बनाएको बताउँदै सैन्य क्षमतामा मात्र ध्यान दिनुको सट्टा कूटनीतिमार्फत शान्ति निर्माणमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

जापानले हालै हिरोसिमा आणविक बम आक्रमणको ८१ औँ वार्षिकोत्सव मनाएको छ भने नागासाकी आक्रमणको स्मरणमा आइतबार विशेष कार्यक्रम आयोजना गर्दैछ। सन् १९४५ अगस्टमा भएको अमेरिकी आणविक आक्रमणमा विकिरणको प्रभावसहित दुई लाख १० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो। जापानमा हाल सो आक्रमणबाट बचेका ९१ हजारभन्दा बढी मानिस जीवित छन् र उनीहरूको औसत उमेर ८६.७ वर्ष पुगेको छ।

चीनको बढ्दो सैन्य क्षमतालाई ध्यानमा राख्दै ताकाइची सरकारले राष्ट्रिय रक्षा रणनीतिमा व्यापक परिवर्तन गरिरहेको छ। सरकारले रक्षा बजेट वृद्धि गर्नुका साथै हतियार निर्यातसम्बन्धी प्रतिबन्ध खुकुलो बनाएको र संविधान संशोधनको प्रयाससमेत अघि बढाएको छ, जसलाई चीनले ‘नयाँ सैन्यवाद’ तर्फको प्रस्थान भन्दै आलोचना गरेको छ।

अमेरिकाले सन् १९६७ देखि लागू जापानी गैर–आणविक सिद्धान्तको भविष्यमाथि चासो देखाउँदै आएको छ। ताकाइचीका समर्थकहरूले क्षेत्रीय सुरक्षाका लागि जापानमा अमेरिकी आणविक हतियार राख्न अनुमति दिने विषयमा पुनर्विचार गर्नुपर्ने तर्क गरिरहेका छन्।
जापान इनोभेसन पार्टीका प्रमुख हिरोफुमी योशिमुराले पनि अमेरिका–जापान सुरक्षा गठबन्धनको सन्दर्भमा यो सिद्धान्तबारे छलफल आवश्यक रहेको बताउनुभयो। यद्यपि, आलोचकहरूले भने सैन्य क्षमता केन्द्रित सुरक्षा नीतिले जापानको जोखिम झन् बढाउने चेतावनी दिएका छन्।