प्रतिनिधिसभामा चार महत्त्वपूर्ण विधेयक प्रस्तुत : अर्को बैठक साउन २५ गते बस्ने
काठमाडौँ, साउन २२ । प्रतिनिधिसभाको सोमबारको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित चारवटा महत्वपूर्ण विधेयकहरू प्रस्तुत गरिएका छन् । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ सदनसमक्ष प्रस्तुत गर्नुभयो ।
त्यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुभयो । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ पनि पेश गर्नुभएको थियो ।
सभामुख डोलप्रसाद अर्यालले ती विधेयकहरू प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमा कुनै पनि सदस्यको विरोधको सूचना प्राप्त नभएकाले सो प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्नुभयो ।
बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२’ को साविकको व्यवस्था जगाउनेसम्बन्धी समितिको प्रतिवेदन, २०८३ समेत पेस गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक आगामी साउन २५ गते सोमबार दिउँसो १:०० बजे बस्ने गरी तोकिएको छ ।