सामुदायिक शिक्षालाई प्रतिस्पर्धी बनाउन कार्यवाहक प्रमुख डंगोल रणनीतिक योजनामा : १२ वटा विद्यालयको भौतिक सुधारका लागि ६२ करोडमा प्रक्रिया सुरु

काठमाडौँ, साउन २२  । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधारमा आमूल परिवर्तन ल्याउन ६२ करोड २८ लाख रुपैयाँको बृहत् लगानी योजना अगाडि बढाएको छ । महानगरभित्रका १२ वटा सामुदायिक विद्यालयको भौतिक अवस्थालाई आधुनिक, सुरक्षित र बालमैत्री बनाउन कार्यवाहक प्रमुख सुनिता डंगोलको रणनीतिक नेतृत्वमा खरिद प्रक्रिया सुरु गरिएको हो ।

महानगरले विद्यालयहरूको विद्यार्थी संख्या, जग्गाको स्वामित्व, भौगोलिक जोखिम र आवश्यकताका आधारमा सहरी योजना आयोगमार्फत अध्ययन गराई यो योजना कार्यान्वयनमा ल्याएको हो । सामुदायिक शिक्षालाई समयसापेक्ष र प्रतिस्पर्धी बनाउन महानगरले पूर्वाधार विकासमा प्राथमिकता दिएको जनाइएको छ ।

योजनाका बारेमा जानकारी दिँदै कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, “बालबालिकाको शारीरिक, मानसिक तथा सामाजिक पक्षको सन्तुलित विकासका लागि शिक्षामा लगानी बढाएका हौँ । हाम्रो यो लगानीबाट प्रविधिमा आधारित कक्षाकोठा र बालमैत्री वातावरण सुनिश्चित हुनेछ, जसले शिक्षकलाई प्रोत्साहन र विद्यार्थीलाई सिकाइप्रति थप आकर्षित गर्नेछ ।”

शिक्षा विभागका अनुसार खरिद प्रक्रियामा रहेका योजनाहरूमध्ये वडा नं. २८ को पद्मोदय माध्यमिक विद्यालयका लागि १५ करोड ३५ लाख र वडा नं. २९ को अटिजम स्कूल निर्माणका लागि १० करोड ९१ लाख रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको छ । यस्तै, कन्या माध्यमिक विद्यालयको छात्राबास निर्माण, दरबार हाइस्कूलको बहुउद्देश्यीय सभा कक्ष र अन्य विभिन्न विद्यालयका भवन निर्माण तथा मर्मतका लागि पनि ठुलो परिमाणमा बजेट छुट्याइएको छ ।

शिक्षा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले संघीय सरकारको सहयोग र समन्वयमा विद्यालय व्यवस्थापनको जिम्मेवारी कुशलतापूर्वक निर्वाह भइरहेको बताउनुभयो । जग्गाको क्षेत्रफल र कानुनी अवस्था हेरेर कतै नयाँ भवन निर्माण त कतै मर्मत सम्भारको कार्य अघि बढाइएको महानगरले जनाएको छ ।

महानगरपालिकाभित्र रहेका ८३ वटा सामुदायिक विद्यालयलाई सुरक्षित र आधुनिक ‘शैक्षिक हब’ का रूपमा स्थापित गर्ने लक्ष्यसहित सुरु गरिएको यो पहलले सामुदायिक शिक्षाको विश्वसनीयता अभिवृद्धि गर्ने विश्वास लिइएको छ ।