पत्नीको शरीरमा पेट्रोल छर्केर आगो लगाउने पति सुर्खेतबाट पक्राउ, गम्भीर घाइते महिलालाई लखनउ रिफर

सुर्खेत, २७ साउन ।मा आफ्नै पत्नीको शरीरमा पेट्रोल छर्केर आगो लगाई गम्भीर घाइते बनाउने पतिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भेरीगङ्गा नगरपालिका–१३, रामघाट निवासी ४९ वर्षीय जयबहादुर रानालाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार जयबहादुरले मंगलबार बेलुका ५:०० बजे घरायसी विवादका क्रममा आफ्नी ५० वर्षीया पत्नी महेश्वरी रानाको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। आगो लागेलगत्तै १८ वर्षीया छोरी पुष्पा रानाले तत्काल आगो निभाएर आमाको उद्धार गर्नुभएको थियो।

त्यसलगत्तै छोरी पुष्पाले उपचारका लागि आमालाई कर्णाली प्रदेश अस्पताल कालागाउँ, सुर्खेत पुर्‍याउनुभएको थियो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्रसिंह बोहोराका अनुसार महेश्वरीको अनुहार, घाँटी र शरीरका विभिन्न भाग गरी करिब ३६ प्रतिशत भाग जलेको छ।

प्रदेश अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि उहाँलाई मङ्गलबार नै नेपालगन्ज रिफर गरिएको थियो। नेपालगन्जमा पनि उपचार सम्भव नभएपछि गएराति ११:३० बजे थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको डीएसपी बोहोराले जानकारी दिनुभयो। घटनाको सम्बन्धमा प्रहरीले पक्राउ परेका रानामाथि ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरी थप कानुनी अनुसन्धान अघि बढाएको छ।