काठमाडौँ महानगरद्वारा शैक्षिक सुधारका लागि स्रोत शिक्षकसँग कार्य सम्पादन करार

काठमाडौँ,  साउन २६ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर र शिक्षण सिकाइ प्रक्रियालाई थप व्यवहारिक एवं प्रभावकारी बनाउने उद्देश्यले ‘स्रोत शिक्षक’हरूसँग कार्य सम्पादन करार सम्झौता गरेको छ । विभागका प्रमुख नमराज ढकाल र सम्बन्धित स्रोत शिक्षकहरूबीच भएको उक्त सम्झौता ‘स्रोत शिक्षक व्यवस्थापन कार्यविधि, २०८०’ र शिक्षा तथा स्वास्थ्य समितिको साउन २२ गतेको निर्णयका आधारमा कार्यान्वयनमा ल्याइएको हो । आगामी २०८४ असार मसान्तसम्मका लागि गरिएको यस सम्झौताले महानगरको शैक्षिक सुधारमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

सम्झौता बमोजिम स्रोत शिक्षकहरूले आफ्नो कार्यक्षेत्र भित्रका विद्यालयहरूको शिक्षण सिकाइ वातावरण सुधार गर्न मासिक तथा साप्ताहिक कार्ययोजना बनाई कार्यान्वयन गर्नुपर्नेछ । महानगरको शैक्षिक नीति र कार्यक्रमहरूलाई विद्यालय स्तरमा प्रभावकारी रूपमा लागू गराउन सहजीकरण गर्ने, शिक्षकहरूको पेशागत विकासमा सहयोग गर्ने र विद्यालयका समस्या समाधानका लागि समन्वय गर्ने मुख्य जिम्मेवारी स्रोत शिक्षकलाई सुम्पिएको छ । यसका साथै, स्रोत शिक्षकले आफ्नो पदाधिकार रहेको विद्यालयमा अनिवार्य रूपमा दैनिक न्यूनतम एक घण्टी कक्षा लिनुपर्ने र विद्युतीय हाजिरीमार्फत आफ्नो उपस्थिति सुनिश्चित गर्नुपर्ने प्रावधान राखिएको छ ।

विभागीय प्रमुख नमराज ढकालले सामुदायिक शिक्षाको गुणस्तरलाई प्रतिस्पर्धी बनाउन योजनाबद्ध शिक्षण र बालमैत्री वातावरण निर्माणमा कुनै सम्झौता नगरिने बताउनुभयो । महानगरपालिका यो लक्ष्य प्राप्तिमा दृढ रहेको उल्लेख गर्दै उहाँले कार्यसम्पादन मूल्याङ्कनलाई करारमा उल्लिखित सूचक र प्रगतिका आधारमा कडाइका साथ मापन गरिने स्पष्ट पार्नुभयो । स्रोत शिक्षकहरू तालिम वा अन्य विशेष कार्यक्रममा सहभागी हुँदा कक्षा शिक्षण प्रभावित नहोस् भन्नका लागि महानगरपालिकाले सट्टा शिक्षकको समेत व्यवस्था गर्ने सम्झौतामा उल्लेख छ ।

महानगरपालिकाले प्रशासनिक सुलभताका लागि साविकका ११ वटा स्रोत केन्द्रहरूलाई पुनर्गठन गरी ९ वटामा कायम गरेको छ । नयाँ व्यवस्था अनुसार शान्ति निकुञ्ज मावि केन्द्रको जिम्मेवारी दिनेश केसीलाई, टङ्गाल माविको प्रतिमा दुलाललाई र जनप्रभात मावि केन्द्रको जिम्मेवारी कमलप्रसाद भट्टलाई दिइएको छ । त्यसैगरी, पद्मकन्या माविमा खगराज जोशी, कोटेश्वर सरस्वतीमा सुशील खनाल, पशुपति मित्रमा नारायण नेपाल, गुहेश्वरी माविमा रमेसकुमार दर्जी, शान्ति शिक्षा मन्दिरमा रश्मी तामाङ र तरुण मावि केन्द्रमा कपिलजङ्ग पाण्डेलाई स्रोत शिक्षकका रूपमा खटाइएको छ । यी केन्द्रहरूले तोकिएका वडाहरू अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरूको अनुगमन, सुपरीवेक्षण र शैक्षिक सहजीकरण गर्नेछन् ।