ज्येष्ठ नागरिकलाई यातायातमा ५० प्रतिशत छुट र सिट आरक्षण प्रभावकारी बनाउन मन्त्री वादीको सक्रियता
काठमाडौँ, साउन २६ । सार्वजनिक सवारीसाधनमा ज्येष्ठ नागरिकले कानुन बमोजिम पाउनुपर्ने ५० प्रतिशत भाडा छुट र कम्तीमा दुई वटा आरक्षित सिटको व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन सरकारले विशेष पहल सुरु गरेको छ । ज्येष्ठ नागरिकसम्बन्धी ऐनमा व्यवस्था भएका सुविधाहरू व्यवहारमा लागू नभएको गुनासो बढेपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीको निर्देशनमा मन्त्रालयले यस विषयलाई प्राथमिकताका साथ अघि बढाएको हो ।
ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा ९ मा ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारीसाधन, सार्वजनिक कार्य, स्वास्थ्य सेवा र धार्मिक तथा सार्वजनिक स्थलहरूमा आवश्यक सेवा, सुविधा र सहयोग प्रदान गर्नु सबैको कर्तव्य हुने उल्लेख छ । सोही कानुनी प्रावधान अनुसार, सरकारले तोकेका सार्वजनिक सवारीसाधनमा ज्येष्ठ नागरिकका लागि कम्तीमा दुई वटा सिट सुरक्षित राख्नुपर्ने र तोकिएको भाडा दरमा ५० प्रतिशत छुट दिनुपर्ने स्पष्ट व्यवस्था छ ।
कानुनी प्रत्याभूति हुँदाहुँदै पनि अधिकांश ज्येष्ठ नागरिकले सार्वजनिक यातायातमा यी सुविधा नपाएको व्यापक गुनासो मन्त्रालयमा प्राप्त भएपछि मन्त्री वादीले यसलाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो । मन्त्रीको निर्देशन लगत्तै मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई औपचारिक पत्र पठाउँदै ज्येष्ठ नागरिकका अधिकार सुनिश्चित गर्न आवश्यक सहजीकरण र प्रभावकारी अनुगमनका लागि अनुरोध गरेको छ ।
मन्त्रालयले ज्येष्ठ नागरिकको अधिकार, सम्मान र सामाजिक सुरक्षालाई केवल कागजमा मात्र सीमित नराखी व्यवहारमै सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यस पहलले सार्वजनिक यातायातमा ज्येष्ठ नागरिकले सम्मानजनक रूपमा आफ्नो अधिकार उपभोग गर्न पाउने र उनीहरूका लागि सहज यात्राको वातावरण निर्माण हुने अपेक्षा गरिएको छ ।