कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा ‘काठमाडौँ रचनात्मक कला परिषद’को पहिलो बैठक सम्पन्न

काठमाडौँ,  साउन २६ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा ‘काठमाडौँ रचनात्मक कला परिषद’को पहिलो बैठक आज महानगरपालिकाको कार्यालयमा सम्पन्न भएको छ । बैठकमा महानगरभित्र रचनात्मक उद्योगको व्यावसायिक विकास गर्ने र आगामी दिनमा ‘काठमाडौँ फिल्म फेस्टिभल’ आयोजना गर्ने विषयमा महत्वपूर्ण छलफल तथा परामर्श भएको छ । ‘रचनात्मक सहर सञ्चालन व्यवस्थापन कार्यविधि, २०८२’ बमोजिम गठित यस परिषदको यो नै पहिलो बैठक हो, जसले महानगरका कला, संस्कृति र चलचित्र क्षेत्रलाई एकीकृत नीतिभित्र समेट्ने लक्ष्य राखेको छ ।

बैठकमा कार्यवाहक प्रमुख डंगोलले परिषदको गठन र यसको कार्यक्षेत्रका बारेमा प्रकाश पार्दै कला र सिर्जनालाई आर्थिक समृद्धिसँग जोड्नुपर्नेमा जोड दिनुभयो । महानगरपालिकाका प्रमुखको अध्यक्षतामा रहने यस परिषदमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, प्रवक्ता, सम्पदा तथा पर्यटन समितिका संयोजक सहित चलचित्र विकास बोर्डका अध्यक्ष र नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक सदस्यका रूपमा रहनुभएको छ । यस्तै, कला र रचनात्मक क्षेत्रमा विशेष अनुभव हासिल गरेका पाँच जना मनोनीत विज्ञ सदस्यहरू र महानगरको सम्पदा तथा पर्यटन विभागका प्रमुख सदस्य सचिव रहने गरी परिषदको संरचना तयार गरिएको छ ।

यो परिषदले मुख्यगरी रचनात्मक उद्योग र चलचित्र निर्माण, प्रवर्धन तथा प्रदर्शनका लागि आवश्यक पर्ने अल्पकालीन र दीर्घकालीन नीति तथा योजनाहरू स्वीकृत गर्ने कार्यभार पाएको छ । काठमाडौँलाई अन्तर्राष्ट्रिय चलचित्र उत्पादनको केन्द्रका रूपमा विकास गर्न वैदेशिक लगानी र प्राविधिकहरूलाई आकर्षित गर्ने गरी नीतिगत व्यवस्था मिलाउनु परिषदको प्रमुख कर्तव्य हो । यसका साथै, रचनात्मक क्षेत्रका लगानीकर्ता, कलाकार र प्राविधिकहरूका लागि अनुकूल कार्यस्थलको सुनिश्चितता गर्ने र यस क्षेत्रसँग सम्बन्धित अध्ययन तथा अनुसन्धानमा सहयोग पुर्‍याउने जिम्मेवारी पनि परिषदले निर्वाह गर्नेछ ।

काठमाडौँ महानगरपालिकाले यहाँको प्राचीन मौलिकता, लोककला, परम्परागत खानपान, भेषभुषा र शिल्पकला जस्ता मूर्त तथा अमूर्त सम्पदाहरूको गरिमा प्रवर्धन गर्न विशेष कार्यविधि लागू गरेको हो । यस परिषदले युनेस्कोको रचनात्मक सहर सञ्जालमा आबद्ध अन्य सदस्य सहरहरूसँग समन्वय र सहकार्य गर्दै काठमाडौँको पहिचानलाई विश्वस्तरमा विस्तार गर्नेछ । चलचित्र विधालाई एउटा सिर्जनशील र सांस्कृतिक उद्योगका रूपमा विकास गरी यसको संरक्षण र सम्वर्धनमार्फत महानगरबासीको प्रतिष्ठा अभिवृद्धि गर्ने परिषदको दीर्घकालीन उद्देश्य रहेको छ ।