पुतलीसडकको प्यासन फाउण्डेशनमा प्रहरीको छापा: सरकारी छाप र दस्तखत किर्ते गर्ने तीन जना पक्राउ
काठमाडौँ, २७ साउन । काठमाडौँको पुतलीसडकमा रहेको एक कन्सल्टेन्सीले सरकारी छाप र दस्तखत किर्ते गरी नक्कली कागजात बनाउने गरेको रहस्य खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले पुतलीसडकस्थित ‘प्यासन फाउण्डेशन’ कन्सल्टेन्सीमा छापा मारी तीन जनालाई नियन्त्रणमा लिएको हो।
पुष्पराज पहारीले सञ्चालन गरेको उक्त कन्सल्टेन्सीले विभिन्न सरकारी निकायका छाप र दस्तखत किर्ते गरी नक्कली कागजात तयार पार्ने गरेको विशेष सूचनाका आधारमा प्रहरी वृत्त सिंहदरबारको टोलीले त्यहाँ खानतलासी गरेको थियो।
प्रहरीले कन्सल्टेन्सीबाट देहायका सामग्रीहरू बरामद गरेको छ:
विभिन्न नगरपालिका र गाउँपालिकाका नक्कली लेटरप्याड तथा छाप।
सहकारी संस्था र विद्यालयका कागजात एवं छापहरू।
नक्कली कागजात बनाउन प्रयोग गरिएका ल्यापटप र अन्य विद्युतीय उपकरण।
प्रहरीले किर्ते कार्यमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ:
१. सन्दीप कार्की (३४ वर्ष), ललितपुर।
२. संगीता मगर (२५ वर्ष), बुढानीलकण्ठ।
३. अंकिता नेपाल (२० वर्ष), गोंगबु।
पक्राउ परेका तीनै जनामाथि ‘लिखतसम्बन्धी कसुर’ मा मुद्दा दर्ता गरिएको छ। काठमाडौँ जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। प्रहरीले बरामद गरिएका विद्युतीय सामग्रीहरूको फरेन्सिक परीक्षण गरिरहेको छ। यो किर्ते धन्दामा कन्सल्टेन्सी सञ्चालकको भूमिका र अन्य व्यक्तिको संलग्नताबारे सुक्ष्म अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।