डेढ दशकपछि राहुघाट जलविद्युत् आयोजना परीक्षण उत्पादनको चरणमा

म्याग्दी, ८ असोज । म्याग्दीको बहुप्रतीक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ दशकको अवधिमा परीक्षण उत्पादनको चरणमा पुगेको छ।

पहिलोपटक ३२ मेगावाट क्षमतामा निर्माण अघि बढाइएको यो आयोजना ठेकेदारको समस्या, ठेक्का रद्द, पुनःसंरचना, नयाँ ठेकेदार छनोट, कोरोना महामारी, बाढी–पहिरो, नदीजन्य निर्माण सामग्रीको अभावलगायतका कारण डेढ दशकपछि सम्पन्न हुन लागेको हो।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेर म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण भएको यस आयोजनाको परीक्षण सफल भएको छ। रघुगङ्गा हाइड्रोका प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार कुल २०/२० मेगावाट क्षमताका दुई वटा युनिटको मङ्गलबार र बुधबार परीक्षण गरी केन्द्रीय प्रणालीमा विद्युत् आपूर्ति गराउन थालिएको छ।

“दुई वटै युनिटलाई पूर्ण क्षमतामा चलाएर केन्द्रीय प्रसारण लाइनमा जोडेका छौँ,” उनले भने, “विद्युत् प्राधिकरणसँग भएको सम्झौताअनुसार १५ दिन परीक्षण उत्पादन गरेपछि व्यावसायिक उत्पादन सुरु हुन्छ।”

रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झीँको फेदीमा बाँध, छ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ र दुई वटा पानी थिग्र्याउने पोखरी निर्माण भएको छ। कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडक छेउमा रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरमा विद्युत्गृह रहेको छ।

आयोजना प्रमुख राजबहादुर विष्टका अनुसार तिल्केनीचौरदेखि घुमाउनेताल, पिप्ले, मौवाफाँट, बुग्ल हुँदै बाँधस्थलसम्म ११ किलोमिटर पहुँचमार्ग निर्माण र राहुघाटमा एक बेलिब्रिज निर्माण भएको छ। विद्युत्गृह परिसरमा स्विचयार्ड र कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा जोड्न आवश्यक संरचना पनि निर्माण गरिएको छ।

आयोजनाले वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) गरेको थियो।

राहुघाट जलविद्युत् आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले भारतीय निर्माण कम्पनी आइभिआरसीएलसँग २०६७ कात्तिक १८ गते रु दुई अर्ब ५० करोडमा सिभिल ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार काम भएको भए राहुघाटले विसं २०७० मै विद्युत् उत्पादन सुरु गर्ने थियो। तर कमजोर आर्थिक अवस्थाका कारण काम गर्न नसकेपछि विद्युत् प्राधिकरणले विसं २०७२ मा उक्त ठेक्का रद्द गर्‍यो। ठेक्का तोडिँदा पाँच वर्षको अवधिमा आयोजनाको भौतिक प्रगति १२ प्रतिशतमा सीमित थियो।

आइभिआरसीएलको ठेक्का रद्द भएपछि प्राधिकरणले विसं २०७३ मा सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेड स्थापना गरी क्षमता ३२ मेगावाटबाट बढाएर ४० मेगावाट बनाउँदै आयोजना अघि बढायो। भारतीय एक्जिम बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको लगानीमा इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्ट्र्याक्ट (इपिसी) प्रारूपमा निर्माण प्रक्रिया अघि बढाइएको हो।

नयाँ प्रक्रियाबाट छनोट भएको सिभिल ठेकेदार भारतीय कम्पनी जयप्रकाश एसोसिएट्स (जेपी)सँग ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७४ मङ्सिर ६ गते करिब रु छ अर्बमा ठेक्का सम्झौता भएको थियो। विसं २०७५ असारदेखि पहुँचमार्ग र विसं २०७६ असार ८ गतेदेखि पिप्लेस्थित तेस्रो नम्बरको अडिटबाट सुरुङ निर्माण सुरु गरिएको थियो। विसं २०८१ साउन १५ गते राहुघाटको मुख्य सुरुङ जोडिएको थियो।

सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्सका व्यवस्थापक एमएस गौरका अनुसार कोरोना महामारी, बाढी, पहिरोजस्ता प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावका कारण आयोजना निर्माणमा ढिलाइ भएको हो। भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)सँग विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता भएको थियो।

म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठका अनुसार जिल्लामा सबैभन्दा पहिले र सरकारी लगानीमा सञ्चालन भएको राहुघाटलाई जलविद्युत् विकासको ‘गेटवे’ (प्रवेशबिन्दु) मानिएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *