नेकपा एमाले केन्द्रीय कमिटी बैठक: ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जारी केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ।
ललितपुरको भनिमण्डलस्थित रामबाग भवनमा बुधबार बसेको बैठकमा अध्यक्ष ओलीले प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएका जिज्ञासा तथा सुझावहरूको जवाफ दिएपछि बैठकले प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए।
बैठकमा पार्टीका पदाधिकारी, सचिवालय सदस्य तथा केन्द्रीय सदस्यहरूले राजनीतिक प्रतिवेदनका साथै समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए।
शीर्ष नेताहरूद्वारा धारणा व्यक्त
प्रतिवेदनमाथिको छलफलमा पार्टी उपाध्यक्षहरू रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्त तथा उपमहासचिवहरू लेखराज भट्ट, योगेश भट्टराई र रघुवीर महासेठले धारणा राखेका थिए।
त्यस्तै, सचिवहरू छविलाल विश्वकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, शेरधन राई, डा. राजन भट्टराई, हिक्मत कार्की र महेश बस्नेतका साथै आयोगका अध्यक्षद्वय भरत पहारी र डा. पुष्प कँडेलले पनि आ-आफ्नो विचार प्रस्तुत गरेका थिए। त्यसैगरी, ठूलो सङ्ख्यामा केन्द्रीय सदस्यहरूले समेत प्रतिवेदनमाथि सुझाव दिएका थिए।
सचिवालय र केन्द्रीय कमिटी बैठक पुन: बस्ने
एमाले प्रचार विभाग प्रमुख आचार्यका अनुसार केन्द्रीय कमिटीको जारी बैठक बिहीबार दिउँसो साढे १२ बजे ललितपुरको भनिमण्डलस्थित रामबाग भवनमा पुन: बस्नेछ।
केन्द्रीय कमिटी बैठकअघि बिहीबार बिहान १० बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टी केन्द्रीय सचिवालयको बैठक डाकिएको एमालेले जनाएको छ।
