वालिङमा व्यावसायिक अकबरे खुर्सानी खेतीको लहर : बाँदरको समस्या समाधानसँगै आम्दानीमा वृद्धि
काठमाडौँ, भदौ २८ । स्याङ्जाको वालिङ नगरपालिका-१३ तारुखोलाका किसानहरू पछिल्लो समय व्यावसायिक अकबरे खुर्सानी खेतीतर्फ आकर्षित भएका छन्। बाँदरले क्षति नपुर्याउने र परम्परागत खाद्यान्न बालीको तुलनामा बढी आम्दानी हुने भएपछि यहाँका किसानले व्यावसायिक रूपमा खुर्सानी खेती विस्तार गरेका हुन् ।
तारुखोलास्थित करिब ६० रोपनी क्षेत्रफलमा अहिले ७० हजारभन्दा बढी अकबरे खुर्सानीका बिरुवा लगाइएको छ। वालिङ नगरपालिकाद्वारा सञ्चालित कृषि विकास परियोजनाअन्तर्गत केदारनाथ कृषि फार्ममार्फत यो व्यावसायिक खेती सुरु गरिएको हो। विगतमा धान र मकैजस्ता बाली लगाइँदै आएको जमिनमा अहिले खुर्सानीको व्यावसायिक उत्पादन सुरु भएको छ।
फार्मका सञ्चालक दयाराम पाठकका अनुसार गत फागुनमा रोपिएको खुर्सानीले अहिले उत्पादन दिन थालेको छ। “बाँदरले अरु बाली नष्ट गरेर हैरानी पारेपछि हामीले विकल्पका रूपमा खुर्सानी रोजेका हौँ,” पाठकले भन्नुभयो, “अहिले बजारमा खुर्सानीको माग उच्च छ, हामीले मागअनुसारको आपूर्ति गर्न सकिरहेका छैनौँ ।”
हाल फार्मबाट प्रत्येक दुई-तीन दिनमा करिब ३०० किलो पाकेको खुर्सानी संकलन गरी बजार पठाउने गरिएको छ। यहाँ उत्पादित खुर्सानी प्रतिकिलो २२० रुपैयाँका दरले बुटवलस्थित तरकारी मण्डी, यशोदा फुड्स प्रालि तथा स्थानीय बजारमा सहजै बिक्री भइरहेको छ। हालसम्म करिब ७ लाख रुपैयाँ बराबरको खुर्सानी बिक्री भइसकेको फार्मले जनाएको छ ।
यस कृषि परियोजनालाई सफल बनाउन वालिङ नगरपालिका र हेफर (Hefer) ले प्राविधिक सहयोग, मल्चिङ प्लास्टिक, मल तथा खुर्सानी सुकाउने मेसिन उपलब्ध गराएका छन्। नगरपालिकाको सहयोग र किसानको मेहनतले गर्दा बाँझो तथा परम्परागत खेती भइरहेको जमिनबाट अहिले राम्रो मुनाफा आर्जन हुन थालेको छ।
खुर्सानी खेतीसँगै उक्त फार्ममा माछापालन र कागती खेतीलाई पनि एकीकृत रूपमा अगाडि बढाइएको छ। उत्पादित सामग्रीहरू फार्मकै सवारी साधनमार्फत बजारसम्म पुर्याउने व्यवस्था गरिएकाले कृषक र व्यापारी दुवैलाई सहज भएको छ। स्थानीयस्तरमै रोजगारी सिर्जना र आर्थिक उपार्जनको यो मोडेल अन्य किसानका लागि पनि प्रेरणाको स्रोत बनेको छ।