पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौँ, ४ भदौ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरण प्रणालीलाई थप पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक गृहकार्य थाल्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ।

सञ्चार मन्त्रालयमा बिहीबार आयोजित छलफलमा सूचना तथा प्रसारण विभाग र प्रेस काउन्सिल नेपालका पदाधिकारीहरूसँग मन्त्री तिमिल्सिनाले सरकारी विज्ञापन तथा अनुदान वितरणमा देखिएका नीतिगत र व्यवहारिक समस्या समाधानबारे विचार विमर्श गर्नुभयो। छलफलमा एउटै व्यक्ति वा संस्थाको स्वामित्वमा रहेका धेरै पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापन लिने गरेको, वास्तविकभन्दा बढी मुद्रण सङ्ख्या पेस गर्ने गरेको र काउन्सिलमा बुझाइएको विवरण तथा वास्तविक प्रकाशन सङ्ख्याबीच भिन्नता भेटिने गरेको विषय उठाइएको थियो।

छलफलमा सूचना तथा प्रसारण विभागका निमित्त महानिर्देशक अनुप नेपाल, प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झवीन्द्र भुसाल र वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाललगायतको सहभागिता थियो।

हाल पत्रपत्रिका वर्गीकरण गर्दा सञ्चार संस्थाको स्वघोषणा र लेखापरीक्षण प्रतिवेदनलाई मुख्य आधार बनाउने गरिएकाले यसमा थप वस्तुनिष्ठ र वैज्ञानिक प्रणाली आवश्यक रहेको अधिकारीहरूले बताएका छन्। मन्त्री तिमिल्सिनाले वास्तविक प्रकाशन र वितरण सङ्ख्या यकिन गर्ने भरपर्दो संयन्त्र बनाउन, वर्गीकरणको आधार स्पष्ट गर्न र विज्ञापन वितरणलाई पारदर्शी तथा विधिसम्मत बनाउन निर्देशन दिनुभयो।

प्रेस काउन्सिल ऐन, २०४८ को दफा १० मा पत्रपत्रिका वितरण सम्परीक्षण समिति रहने र त्यसले प्रकाशन सङ्ख्याका आधारमा पत्रपत्रिकाको वर्गीकरण गर्ने कानुनी व्यवस्था छ। मन्त्री तिमिल्सिनाले ऐन, नियमावली २०४९ र सम्परीक्षण मापदण्ड २०६६ (परिमार्जित २०७९) का कानुनी व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयन भए/नभएकोबारे विस्तृत अध्ययन गर्न निर्देशन दिनुभएको छ।

सञ्चारमाध्यम डिजिटलतर्फ केन्द्रित हुँदै गएकाले छापा माध्यममा मात्र सीमित सरकारी विज्ञापन प्रणालीलाई पुनरावलोकन गरी अनलाइन र अन्य डिजिटल मिडियालाई समेत समेट्ने गरी एकीकृत वर्गीकरण प्रणालीको सम्भावनाबारे अध्ययन भइरहेको मन्त्रालयले जनाएको छ। मन्त्री तिमिल्सिनाले प्रेस काउन्सिलको आर्थिक तथा प्रशासनिक कार्य प्रणालीलाई व्यवस्थित बनाउन र महालेखापरीक्षकको वार्षिक प्रतिवेदनले औँल्याएका बेरुजुहरू समयमै फछ्र्यौट गर्नसमेत मातहतका अधिकारीहरूलाई निर्देशन दिनुभयो।