३ वर्षीया बालिका गरिमा चौधरीको हत्या प्रकरण: काठमाडौँमा पनि प्रदर्शन

काठमाडौँ, ५ भदौ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विरोधमा शुक्रबार सङ्घीय राजधानी काठमाडौँमा अधिकारकर्मी र पीडितका आफन्तहरूले प्रदर्शन गरेका छन्।

काठमाडौँमा भेला भएका प्रदर्शनकारीहरूले ‘गरिमालाई न्याय दे’ लगायतका नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका हुन्। यता, बालिकाको हत्यामा संलग्नलाई हदैसम्मको कारबाहीको माग गर्दै बारामा पीडित परिवार र स्थानीय बासिन्दा सडकमै धर्नामा बस्दा वीरगञ्ज–पथलैया सडकखण्ड लगातार तेस्रो दिन पनि अवरुद्ध बनेको छ।

बिहीबार राति स्थानीय प्रशासनले आन्दोलनरत स्थानीय प्रतिनिधिहरूसँग सहमति गरे पनि मृतकका परिवारले उक्त सहमतिलाई अस्वीकार गरेका छन्। आफ्नो परिवारको सहमति र उपस्थिति विना नै एकतर्फी रूपमा सहमति गरिएको भन्दै परिवारले आन्दोलन नरोक्ने घोषणा गरेको हो।

मृतक बालिकाका पिता मनोज चौधरीले यस जघन्य अपराधको न्यायका लागि गृहमन्त्री सुदन गुरुङ र कानुन मन्त्री सोबिता गौतम स्वयम् घटनास्थलमा उपस्थित हुनुपर्ने अडान राख्नुभएको छ। उहाँले मन्त्रीद्वय उपस्थित भएर यस्ता गम्भीर अपराधमा संलग्नलाई कडा सजाय हुने गरी कानुनी प्रावधान संशोधन गर्ने प्रतिबद्धता जनाउनुपर्ने माग गर्नुभएको छ।