निजामती कर्मचारी अस्पतालमा आइतबारदेखि विशेष ओपिडी सेवा सुरु हुने

काठमाडौँ, ५ भदौ । निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) ले आगामी आइतबारदेखि निजामती कर्मचारी तथा उनीहरूका परिवारलाई लक्षित गर्दै विशेष ओपिडी (बहिरङ्ग) सेवा सञ्चालन गर्ने भएको छ।

प्रत्येक आइतबार बिहान ९:०० बजेदेखि दिउँसो १:०० बजेसम्म सञ्चालन हुने यस विशेष ओपिडी सेवामा इन्टरनल मेडिसिन, फेमिली मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, नाक–कान–घाँटी रोग (ईएनटी), रेडियोलोजी र प्याथोलोजीसम्बन्धी स्वास्थ्य सुविधाहरू उपलब्ध हुनेछन्।

अस्पतालकी सूचना अधिकारी श्रीरञ्जना नेपालका अनुसार राष्ट्रसेवक निजामती कर्मचारी र उनीहरूका परिवारले अस्पतालबाट प्रवाह गरिने उपचार सेवा लिन लामो समयसम्म लाइन बस्नु नपरोस् र सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले यो विशेष ओपिडी सञ्चालन गर्न लागिएको हो।

आगामी दिनमा यस विशेष ओपिडी सेवाअन्तर्गत थप विशिष्टीकृत सेवाहरू पनि थप गर्दै लैजाने अस्पताल प्रशासनले जनाएको छ।