३ वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा काँकरभिट्टामा पनि विरोध र्‍याली

झापा, ५ भदौ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा शुक्रबार झापाको काँकरभिट्टामा विरोध र्‍याली निकालिएको छ।

जनचेतना महिला केन्द्रको आयोजनामा मेचीनगर नगरपालिका क्षेत्रका विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, नागरिक समाज तथा विद्यार्थीहरूको सहभागिता रहेको विरोध र्‍यालीले काँकरभिट्टा बजारको परिक्रमा गरेको थियो।

र्‍यालीमा सहभागीहरूले ‘बालिका हिंसा बन्द गर’, ‘अन्याय अब सहिन्न’, ‘अपराधीलाई कडा कारबाही गर’ र ‘गरिमालाई न्याय दे’ जस्ता नारा अंकित प्लेकार्डहरू प्रदर्शन गरेका थिए। र्‍यालीपछि आयोजित कोणसभालाई जनचेतना केन्द्रकी संयोजक राधाप्रधान कार्की र विद्यार्थी प्रतिनिधिहरूले सम्बोधन गर्दै जघन्य अपराधमा संलग्न दोषीलाई हदैसम्मको कानुनी सजाय दिलाउन र बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सरकारसँग जोडदार माग गर्नुभयो।