कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै इतर पक्ष सर्वोच्च जाँदै
काठमाडौँ, ५ भदौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै पार्टीको इतर पक्ष आज सर्वोच्च अदालत जाने भएको छ । संस्थापन पक्षले महाधिवेशनको प्रक्रिया अगाडि बढाएको भन्दै त्यसविरुद्ध रिट दर्ता गर्ने तयारी भएको हो ।
नेता मीन विश्वकर्माका अनुसार पूर्वसभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काका तर्फबाट छुट्टाछुट्टै रिट दर्ता गरिनेछ । “अहिले कानुन व्यवसायीहरूसँग अन्तिम परामर्श भइरहेको छ, शीर्ष नेताहरू आफैँ अदालत नभई प्रतिनिधिमार्फत रिट दर्ता गरिनेछ,” विश्वकर्माले जानकारी दिनुभयो ।
कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ । तर, पार्टीको आधिकारिता र विधान कार्यान्वयनको विषयमा देखिएको विवाद अहिले सर्वोच्च अदालतमा विचाराधीन छ ।
सर्वोच्चले कांग्रेसको आधिकारिता विवादमा पुन: सुनुवाइ गर्न ‘निस्सा’ दिइसकेको अवस्थामा सो मुद्दाको अन्तिम टुङ्गो नलाग्दासम्म महाधिवेशनसम्बन्धी कुनै पनि काम अघि नबढाउन इतर पक्षले माग गरेको छ । अदालतमा विचाराधीन गम्भीर मुद्दाको फैसला नआउँदै महाधिवेशन प्रक्रिया सुरु गर्दा कानुनी जटिलता आउने दाबी रिट निवेदनमा गरिएको छ ।
यो कानुनी झमेलाले नेपाली कांग्रेसको आन्तरिक राजनीति थप तरंगित बनेको छ भने तोकिएको समयमा महाधिवेशन हुनेमा अन्योलता बढेको छ ।