बाजुरामा पहिरोको उच्च जोखिम : १४ परिवारका ११५ जना सुरक्षित स्थानमा स्थानान्तरित
काठमाडौँ, भदौ ६ । बाजुराको गौमुल गाउँपालिका ३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्याएपछि उच्च जोखिममा रहेका १४ परिवारका ११५ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
बिहीबार दिउँसोको अविरल वर्षासँगै खसेको पहिरोले स्थानीय ५७ वर्षीय पूर्णिमल बोहरा र ३८ वर्षीया बुदी बोहराको तीनतले घर पूर्ण रूपमा ध्वस्त बनाएको हो। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता नरेशबहादुर शाहीका अनुसार पहिरोले दुवै घरभित्रका खाद्यान्न, लत्ताकपडा लगायतका सम्पूर्ण सामग्री पुरेको छ ।
बस्ती नजिकै पहिरो खस्ने क्रम जारी रहेकाले थप जोखिमलाई मध्यनजर गर्दै आसपासका १४ घरका ११५ जनालाई सुरक्षित स्थानमा निर्मित अस्थायी टहरामा स्थानान्तरण गरिएको छ । हाल प्रहरी र स्थानीयको सहयोगमा पहिरोमा पुरिएका सामग्रीहरू निकाल्ने प्रयास भइरहेको छ ।
यसैबीच, गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन पालिकाको तर्फबाट टोली परिचालन गरिएको जानकारी दिनुभएको छ। उहाँले विपद्को यस घडीमा विस्थापितहरूको सहयोग र पुनःस्थापनाका लागि जुट्न स्थानीय सामाजिक सङ्घसंस्था तथा सरोकारवाला निकायहरूलाई आह्वान समेत गर्नुभएको छ ।