पहिरोका कारण बेनी-जोमसोम र बेँसीसहर-चामे सडक खण्ड अवरुद्ध

काठमाडौँ,  भदौ ६ । निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण हिमाली जिल्ला जोड्ने दुई मुख्य सडकखण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । म्याग्दीको बेनी–जोमसोम र मनाङको बेँसीसहर–चामे सडकखण्डमा पहिरो खस्दा यातायात सेवा ठप्प भएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ स्थित बैसरीमा आज बिहान करिब ५ः३० बजे सडक माथिबाट लेदोसहितको पहिरो खसेको थियो । सो पहिरोका कारण मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको हो ।

त्यसैगरी, लमजुङ र मनाङ जोड्ने बेँसीसहर-चामे सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध भएको छ । मनाङको नासो गाउँपालिका–३ स्थित खोत्रोमा आज बिहान ३ बजे पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ ।

अहिले दुवै स्थानमा सडक विभाग, सुरक्षाकर्मी र स्थानीय निकायको समन्वयमा पहिरो पन्छाउने कार्य भइरहेको छ । सडक अवरुद्ध हुँदा गन्तव्यतर्फ हिँडेका यात्रुहरू र मालबाहक सवारी साधनहरू बीच बाटोमै रोकिएका छन् । मौसम अनुकूल भएमा दिउँसोसम्म सडक सुचारु हुन सक्ने अनुमान गरिएको छ ।