बालिका गरिमा हत्या प्रकरण: ५ बुँदे सहमति अस्वीकार गर्दै परिवारद्वारा सडक अवरुद्ध

वीरगन्ज, ६ भदौ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरकी ३ वर्षीया बालिका गरिमा चौधरीको विभत्स हत्याको विरोधमा स्थानीयले आज चौथो दिन पनि वीरगन्ज–पथलैया सडकखण्ड अवरुद्ध गरेका छन् । पीडित परिवारलाई न्याय र दोषीलाई कडा कारबाहीको माग गर्दै स्थानीयले सिमरा खण्डमा टेन्ट टाँगेर धर्ना दिइरहेका हुन् ।

यसअघि बिहीबार राति स्थानीय प्रशासन, राजनीतिक दल र जनप्रतिनिधिबीच ५ बुँदे सहमति भए पनि मृतकका परिवारले त्यसलाई अस्वीकार गरेका छन् । सहमतिमा आफ्नो सहभागिता र सहमति नरहेको भन्दै गरिमाका परिवारले आन्दोलनलाई निरन्तरता दिएका हुन् । जसका कारण सो क्षेत्रको यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको छ ।

गत साउन ३१ गते बिहानदेखि बेपत्ता भएकी बालिका चौधरीको शव भदौ २ गते आफ्नै घर नजिकैको एक घरमा अमानवीय र विभत्स अवस्थामा फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार घटनाको गम्भीरतालाई ध्यानमा राख्दै अनुसन्धान तीव्र पारिएको छ ।

बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै विभिन्न राजनीतिक दल, नागरिक समाज र सङ्घसंस्थाहरूले पनि घटनाको कडा निन्दा गरेका छन् । उनीहरूले दोषीलाई कानुनी कठघरामा उभ्याएर कडाभन्दा कडा सजाय दिन सरकारसँग माग गरेका छन् । लामो समयदेखि सडक अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती खेप्नुपरे पनि न्याय नपाएसम्म आन्दोलन नरोक्ने अडान प्रदर्शनकारीको छ ।