अर्घाखाँचीमा वन्यजन्तु सिकारका लागि अनुज्ञापत्र खुला

काठमाडौँ, भदौ ६ ।  अर्घाखाँचीको डिभिजन वन कार्यालयले प्रचलित कानुनको परिधिभित्र रही वन्यजन्तुको सिकार गर्न चाहने नेपाली नागरिकका लागि अनुज्ञापत्र (लाइसेन्स) को आवेदन खुला गरेको छ । कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै इच्छुक नागरिकलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी आवेदन दिन आह्वान गरेको हो ।

विशेषगरी राते मृग, चित्तल र बँदेलको सिकारका लागि जिल्ला सिकार अनुज्ञापत्र उपलब्ध गराउन लागिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी केशव खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सिकार गर्न इच्छुक व्यक्तिले यही भदौ १० गतेभित्र आवश्यक कागजातसहित डिभिजन वन कार्यालयमा निवेदन पेश गरिसक्नुपर्नेछ ।

वन्यजन्तुबाट हुने कृषि बालीको नोक्सानी र मानवीय क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ सरकारले यो कदम चालेको हो । ‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९’ र सोही ऐनको नियमावली २०३० मा उल्लेखित कानुनी प्रावधानअनुसार अनुज्ञापत्र वितरण गरिने कार्यालयले जनाएको छ ।

आवेदनका साथमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, इजाजत प्राप्त हतियार (लाइसेन्स) को प्रमाणपत्र र प्रचलित कानुनले तोकेका अन्य आवश्यक विवरणहरू अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।

सूचना अधिकारी खड्काले वन्यजन्तु संरक्षणलाई ध्यानमा राख्दै सिकार गतिविधिलाई व्यवस्थित र नियमन गर्न कानुनी रूपमै अनुज्ञापत्रको व्यवस्था गरिएको प्रस्ट पार्नुभयो। अनुमति प्राप्त नगरी गरिने सिकार गैरकानुनी र दण्डनीय हुने भएकाले सौखिन वा आवश्यक परेका व्यक्तिलाई प्रक्रियागत रूपमा अघि बढ्न कार्यालयले आग्रह गरेको छ ।

अर्घाखाँचीमा पछिल्लो समय मानव र वन्यजन्तु बीचको द्वन्द्व बढ्दो क्रममा छ । वन क्षेत्र आसपासका बस्तीमा वन्यजन्तुले बालीनाली नष्ट गर्ने र पशुचौपायामाथि आक्रमण गर्ने समस्या रहेकाले यसलाई व्यवस्थापन गर्न सरकारी नीति अनुरूप नै सिकार अनुमति खुला गरिएको हो ।

डिभिजन वन प्रमुख नारायणदेव भट्टराईले अनुज्ञापत्र वितरण प्रक्रिया पूर्ण रूपमा पारदर्शी हुने र निवेदनको सुक्ष्म जाँचपछि मात्र अनुमति दिइने बताउनुभयो। सिकारको आडमा वन्यजन्तुको अवैध चोरी निकासी वा अन्य गैरकानुनी गतिविधि हुन नदिन वन कार्यालय र सुरक्षा निकायले कडा निगरानी राख्ने समेत उहाँले स्पष्ट पार्नुभयो ।