नेपाल ‘ए’ र बङ्गलादेश हाईपरफर्मेन्स आज भिड्दै : पहिलो जितको खोजीमा नेपाल
काठमाडौँ, भदौ ६ । अष्ट्रेलियामा जारी टप एन्ड टी-२० क्रिकेट शृङ्खला अन्तर्गत नेपाल ‘ए’ ले आज बङ्गलादेश हाई-परफर्मेन्स (एचपी) टोलीको सामना गर्दैछ । शृङ्खलाको पहिलो खेलमा आयोजक नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेटको पराजय बेहोरेको नेपाल आजको खेलमा उत्कृष्ट पुनरागमन गर्दै पहिलो जित दर्ता गर्ने लक्ष्यमा रहेको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार डार्विनस्थित मारारा ओभलमा हुने यो खेल नेपाली समय अनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ ।
पहिलो खेलमा ब्याटिङ र बलिङ दुवै पक्षमा अपेक्षाकृत प्रदर्शन गर्न नसकेको नेपाली टोलीले आज सुधारिएको प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । गत वर्षको संस्करणमा पनि नेपाल र बङ्गलादेश ‘ए’ बीच प्रतिस्पर्धा भएको थियो, जसमा नेपाल २९ रनले पराजित भएको थियो । नेपाल आज सोही हारको बदला लिँदै अङ्क तालिकामा आफ्नो उपस्थिति बलियो बनाउन चाहन्छ ।
प्रतियोगिताको ढाँचा अनुसार लिग चरणमा प्रत्येक टोलीले ६ खेल खेल्ने अवसर पाउनेछन् । त्यसैले पहिलो खेलमा हार बेहोरे पनि नेपालका लागि सेमिफाइनलको दौडमा फर्कन अझै पर्याप्त अवसर बाँकी छ । आजको खेलमा प्राप्त हुने नतिजाले नेपालको आगामी यात्रा तय गर्न महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।