जनकपुरधामका पोखरीहरूलाई अतिक्रमणमुक्त बनाउन गुठी संस्थानद्वारा डोजर प्रयोग

काठमाडौँ, भदौ ६ । जनकपुरधामका ऐतिहासिक एवं धार्मिक पोखरीहरूको जग्गा अतिक्रमण गरी निर्माण गरिएका अवैध संरचनाहरू हटाउन गुठी संस्थानले आजदेखि अभियान सुरु गरेको छ । संस्थानले स्थानीय प्रशासन र सुरक्षा निकायको समन्वयमा डोजर प्रयोग गरी अतिक्रमित जग्गा खाली गराउन थालेको हो ।

गुठी संस्थान शाखा कार्यालय जनकपुरधामका प्रमुख किशोरकुमार झाका अनुसार आज बिहान जनकपुरधाम उपमहानगरपालिका–४ स्थित पेठीया बजार नजिकै रहेको गोरधोइ पोखरीबाट अतिक्रमण हटाउने कार्यको थालनी गरिएको छ । संस्थानले पटक–पटक सूचना जारी गरी अवैध संरचना आफैँ हटाउन आग्रह गरे पनि सम्बन्धित पक्षले अटेर गरेपछि बाध्य भएर डोजर चलाउनुपरेको प्रमुख झाले जानकारी दिनुभयो ।

संस्थानले पहिलो चरणमा जनकपुरधामका सातवटा पोखरीको अतिक्रमणसम्बन्धी लगत सङ्कलन गरी जग्गा खाली गराउने प्रक्रिया अघि बढाएको छ । लगत सङ्कलनका क्रममा कतिपय स्थानमा ठूलो मात्रामा र कतिपयमा सामान्य अतिक्रमण भएको पाइएको छ । जनकपुरधाममा गुठी संस्थान मातहत कुल ४९ वटा पोखरीहरू रहेका छन् ।

पोखरी, मठमन्दिर तथा गुठीका अन्य सम्पदाको संरक्षणका लागि गुठी संस्थानका प्रशासक ध्रुव घिमिरेको संयोजकत्वमा गठित नौ सदस्यीय समितिले यसअघि नै अध्ययन गरी प्रतिवेदन बुझाइसकेको छ । सोही प्रतिवेदनका आधारमा अहिले कार्यान्वयन प्रक्रिया अघि बढाइएको हो ।

प्रमुख झाका अनुसार जनकपुरधाममा गुठी संस्थानको करिब २२ देखि २५ बिघा जग्गा अतिक्रमणमा परेको अनुमान गरिएको छ । जसमध्ये रत्नसागर क्षेत्रमा मात्रै करिब नौ बिघा र बेलाकुट्टी क्षेत्रमा चार बिघाभन्दा बढी गुठी जग्गा अवैध कब्जामा रहेको छ । संस्थानले यो अभियानलाई निरन्तरता दिँदै सबै अतिक्रमित जग्गा फिर्ता गराउने लक्ष्य राखेको छ ।