दास व्यापार र यसको उन्मूलनको स्मरणमा आज अन्तर्राष्ट्रिय दिवस मनाइँदै
काठमाडौँ, भदौ ७ । दास व्यापार र यसको उन्मूलनको स्मरणका लागि आज विश्वभर विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा हरेक वर्ष अगष्ट २३ तारिखमा यो दिवस मनाउने गरिन्छ ।
यस दिवसको प्रमुख उद्देश्य दास व्यापारको इतिहास, त्यसले मानव समुदायमा पुर्याएको पीडा र दासत्व अन्त्यका लागि भएका ऐतिहासिक सङ्घर्षहरूको स्मरण गर्दै जनचेतना अभिवृद्धि गर्नु रहेको छ ।
ऐतिहासिक पृष्ठभूमि
सन् १७९१ अगष्ट २२ र २३ को रात हालको हाइटी (तत्कालीन सेन्ट-डोमिङ्ग) मा दासत्वविरुद्ध ठूलो विद्रोह सुरु भएको थियो । सोही विद्रोहको सम्झनामा अगष्ट २३ लाई अन्तर्राष्ट्रिय दिवसको रूपमा छनोट गरिएको हो । उक्त विद्रोहले विश्वव्यापी रूपमा दास व्यापार र दासत्व उन्मूलनको अभियानमा महत्वपूर्ण मार्गप्रशस्त गरेको थियो ।
दिवसको सुरुआत र महत्व
युनेस्कोका अनुसार यो दिवस पहिलोपटक सन् १९९८ मा हाइटीमा र सन् १९९९ मा सेनेगलको गोरे द्वीपमा मनाइएको थियो । त्यसयता यसलाई दासत्वको इतिहासबारे अध्ययन, अनुसन्धान र नागरिकलाई सुसूचित गर्ने अवसरका रूपमा मनाइँदै आइएको छ।
यस दिवसले दास व्यापारका कारण सिर्जित ऐतिहासिक अन्याय र त्यसको दीर्घकालीन प्रभावबारे नयाँ पुस्तालाई जानकारी गराउँदै मानवअधिकार, स्वतन्त्रता, समानता र मानवीय मर्यादाको सम्मानका लागि प्रतिबद्ध हुन आह्वान गर्दछ ।
युनेस्कोले यो दिवस केवल विगतको स्मरण मात्र नभई वर्तमान समयमा पनि कायम रहेका विभेद, जातीय पूर्वाग्रह र अमानवीय व्यवहारका सबै स्वरूपविरुद्ध सचेत रहन आवश्यक रहेकोमा जोड दिँदै आएको छ ।