जापानको टोकियो क्षेत्रमा ५.९ म्याग्निच्युडको भूकम्प, ३७ जना घाइते

एजेन्सी, ७ भदाै । जापानको पूर्वी क्षेत्रमा आइतबार बिहान ५.९ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पका कारण राजधानी टोकियोसहित पाँचवटा प्रिफेक्चरमा कम्तीमा ३७ जना घाइते भएका छन्। अधिकारीहरूले सुनामीको कुनै खतरा नरहेको स्पष्ट पारेका छन्।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्पको केन्द्रबिन्दु दक्षिणी इबाराकी प्रान्तमा जमिनमुनि ७० किलोमिटर गहिराइमा रहेको थियो। अमेरिकी भूगर्भ सर्वेक्षणले भने उक्त भूकम्प ५.८ म्याग्निच्युडको रहेको मापन गरेको छ।

स्थानीय अग्नि तथा विपद् व्यवस्थापन निकायका अनुसार भूकम्पका कारण टोकियोमा १५, साइतामामा नौ, कानागावामा आठ, चिबामा चार र इबाराकीमा एक जना घाइते भएका छन्। घाइते हुनेहरूमध्ये अधिकांश भूकम्पको कम्पनका बेला सन्तुलन गुमाएर लड्दा वा फर्निचर र ढोकामा ठोक्किँदा चोट लागेका व्यक्तिहरू हुन्। कानागावा प्रान्तको योकोहामामा ओछ्यानबाट लडेर ८० वर्षीया एक महिला गम्भीर घाइते हुनुभएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भूकम्पका कारण टोकियो र नारिता विमानस्थल जोड्ने एक्सप्रेस रेल तथा केही उत्तरपूर्वी स्थानीय रेल सेवाहरूमा सामान्य ढिलाइ भएको थियो। यद्यपि, द्रुत गतिको ‘शिन्कानसेन’ बुलेट रेल सेवा भने नियमित रूपमा सञ्चालन भएको पूर्वी जापान रेलवे कम्पनीले जनाएको छ। टोकियोको कोटो वार्डमा खानेपानीको पाइप फुटेर सडकमा पानी बगेको भए पनि मर्मतपछि चुहावट रोकिएको छ।

प्रधानमन्त्री साने ताकाइचीले सम्भावित क्षतिको मूल्याङ्कन गर्न र राहत व्यवस्थापन चुस्त राख्न सरकारले विशेष कार्यदल गठन गरेको जानकारी दिनुभयो। मौसम विज्ञान एजेन्सीले प्रभावित क्षेत्रका बासिन्दालाई आगामी एक सातासम्म थप पराकम्प आउन सक्ने भन्दै सतर्क रहन अपिल गरेको छ। यता, आणविक नियमन प्राधिकरणले आणविक ऊर्जा केन्द्रहरू सुरक्षित रहेको र त्यहाँ कुनै पनि अस्वाभाविक अवस्था नदेखिएको स्पष्ट पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *