सप्तरीमा ३ वर्षीया बालिका मृत फेला परेको घटनामा एक शङ्कास्पद व्यक्ति पक्राउ

सप्तरी, ७ भदौ । सप्तरीको शम्भुनाथ नगरपालिकामा तीन वर्षीया बालिका मृत फेला परेको घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले एक जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

प्रहरी नायब महानिरीक्षक ओम अधिकारीका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिको गतिविधि शङ्कास्पद देखिएकाले थप अनुसन्धानका लागि हिरासतमा राखिएको हो।

सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर–३ मा स्थानीय इरफानकी ३ वर्षीया छोरी सानिया खातुन आइतबार मृत फेला पर्नुभएको थियो। पारिवारिक स्रोतका अनुसार बालिका सानिया आइतबार बिहान करिब ९:०० बजेपछि घरबाट एकाएक बेपत्ता हुनुभएको थियो।

उहाँ बेपत्ता भएको जानकारी परिवारका सदस्यले दिएपछि खोजी गर्ने क्रममा घरभन्दा करिब ६० मिटर पछाडि रहेको झाडीमा उहाँको शव फेला परेको थियो। घटना अत्यन्त संवेदनशील रहेकाले प्रहरीले विशेष टोली परिचालन गरी विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *