उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: नौ पालिकाबिच ऐतिहासिक समझदारी, ६ रुटमा ३० वटा बस सञ्चालन हुने
काठमाडौँ, ४ असोज । काठमाडौँ उपत्यकामा रात्रिकालीन जनजीवनलाई सहज, सुरक्षित र भरपर्दो बनाउन उपत्यकाका नौ वटा स्थानीय तहले साझा यातायातसँग सहकार्य गर्दै रात्रिकालीन बस सेवा विस्तार गरेका छन्। काठमाडौँ महानगरपालिकाको नेतृत्वमा संविधान दिवसको अवसर पारेर नौ वटै पालिकाका प्रमुखहरू र साझा यातायातका अध्यक्षबिच औपचारिक समझदारीपत्रमा (MoU) हस्ताक्षर भएको छ।
यसअघि वैशाख १ गतेदेखि २ वटा रुटमा ७ वटा बसमार्फत परीक्षणका रूपमा सञ्चालन भइरहेको यो सेवालाई अब ६ वटा रुटमा ३० वटा विद्युतीय बसमार्फत विस्तार गरिएको छ।
यी हुन् रात्रिकालीन बस सञ्चालन हुने मुख्य ६ रुटहरू:
१. जगाती–सूर्यविनायक–ठमेल (६ वटा बस)
२. गोदावरी–लगनखेल–बुढानीलकण्ठ (६ वटा बस)
३. चक्रपथ (घडीको दिशा र उल्टो दिशा) (८ वटा बस)
४. कीर्तिपुर–जमल (४ वटा बस)
५. टाखेल–ठमेल (२ वटा बस)
६. नागढुङ्गा–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (४ वटा बस)
वित्तीय दायित्व र व्यवस्थापनको ढाँचा
रात्रिकालीन बस सञ्चालनका क्रममा यात्रु भाडाबाट सङ्कलन हुने रकमले खर्च नधानेमा हुने घाटा रकम पालिकाहरूले व्यहोर्नेछन्। अपुग रकमको ५० प्रतिशत सम्बन्धित सात वटा नगरपालिकाले समान रूपमा व्यहोर्नेछन् भने बाँकी ५० प्रतिशत घाटा रकम जनसङ्ख्याका आधारमा काठमाडौँ महानगरपालिका (१८.५५%), ललितपुर महानगरपालिका (१८.५५%) र अन्य सात पालिकाले ९/९ प्रतिशतका दरले व्यहोर्ने सहमति भएको छ।
नयाँ प्रविधि र पूर्वाधारको विकास
-
डिजिटल टिकेटिङ: आर्थिक चुहावट रोक्न साझाले असोज १ गतेदेखि नै क्यूआर कोड (QR Code) तथा नगद दुवै माध्यमबाट टिकट लिन सकिने डिजिटल प्रणाली लागू गरिसकेको छ।
-
अधिकतम भाडा: चक्रपथमा बस परिवर्तन गरी उपत्यकाका जुनसुकै तोकिएका स्थानमा पुग्दा अधिकतम भाडा ८० रुपियाँ तोकिएको छ।
-
चार्जिङ स्टेसन र बस स्टप: रुटका अन्तिम विन्दुहरूमा चार्जिङ स्टेसन निर्माणका लागि सम्बन्धित नगरपालिकाले जग्गा उपलब्ध गराउनेछन् भने आर्थिक वर्ष २०८३/८४ भित्र डिजिटल साइनेज बोर्डसहितका आधुनिक ‘डिजिटल बस स्टप’ निर्माण गरिनेछ।
समारोहमा काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नागरिकका आधारभूत आवश्यकता पूरा गर्ने क्रममा सुरु गरिएको यो सेवा अब निरन्तर र दिगो रूपमा सञ्चालन हुने बताउनुभयो। त्यस्तै, ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले सङ्घीय सरकारबाट मेट्रो वा बीआरटीको योजना नआए पनि स्थानीय तहहरू आफैँ मिलेर उपत्यकाबासीलाई भरपर्दो यातायात सेवा दिन अघि बढेको उल्लेख गर्नुभयो।
साझा यातायातका अध्यक्ष सुशीलराज प्याकुरेलका अनुसार स्थानीय तहहरू अभिभावकका रूपमा जोडिएपछि रात्रिकालीन सेवाले दीर्घकालीन रूप लिने विश्वास लिइएको छ। हाल साझा यातायातसँग १११ वटा बस सञ्चालनमा रहेका छन्।
