सुनको मूल्य आजपनि एकैदिन तोलामा ३ हजार २०० ले बढ्यो, चाँदी भने घट्यो
काठमाडौँ, ८ भदौ । नेपाली बजारमा सुनको मूल्यमा सोमबार भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार दुई सय रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको हो ।
महासंघले आजका लागि सुनको कारोबार मूल्य प्रतितोला तीन लाख २२ हजार सात सय रुपैयाँ तोकेको छ । आइतबार सुन प्रतितोला तीन लाख १९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो एक सातामा मात्रै सुनको भाउ १५ हजार सात सय रुपैयाँले बढिसकेको छ । गत सोमबार सुनको मूल्य प्रतितोला तीन लाख छ हजार आठ सय रुपैयाँ रहेको थियो ।
सुनको मूल्य आकाशिए पनि चाँदीको भाउमा भने सामान्य गिरावट देखिएको छ । सोमबार चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला चार हजार नौ सय ६५ रुपैयाँमा झरेको छ । आइतबार चाँदी चार हजार नौ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।
यद्यपि, गत सोमबारको तुलनामा भने चाँदीको मूल्य पनि बढेको देखिन्छ । गत सोमबार चाँदी प्रतितोला चार हजार सात सय ७० रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण नेपाली बजारमा पनि सुनको मूल्यले दैनिकजसो नयाँ रेकर्ड बनाउँदै गएको छ ।