‘सालिक ठड्याएर के ३ वर्षीया बालिकाको जीवन फिर्ता आउँछ ?’ – सांसद गच्छदार
काठमाडौँ, ८ भदौ । नेपाली कांग्रेसकी सांसद प्रमिलाकुमारी गच्छदारले बलात्कारपछि हत्या गरिएकी ३ वर्षीया बालिका गरिमा चौधरीको परिवारसँग सरकारले गरेको सम्झौतामाथि गम्भीर प्रश्न उठाउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद गच्छदारले सरकारले गर्ने गरेका यस्ता सम्झौताले पीडितलाई न्यायको अनुभूति गराउन नसक्ने बताउनुभयो ।
सदनमा बोल्दै उहाँले भन्नुभयो, “एउटा सालिक ठड्याएर के ३ वर्षीया बालिकाको जीवन फिर्ता आउँछ ? यस्तो सहमति पत्रले तत्कालको आन्दोलन त रोक्ला र राहतले क्षणिक पीडा कम गर्ला, तर यसले दीर्घकालीन न्यायको अनुभूति र राज्यप्रतिको विश्वास पुनर्स्थापित गर्न सक्दैन ।”
सांसद गच्छदारले सडकमा आन्दोलन चर्किएपछि मात्र मन्त्रीहरू सक्रिय हुने र स्थानीय प्रशासनलाई ओझेलमा पार्ने कार्यशैलीको कडा आलोचना गर्नुभयो । यस्तो प्रवृत्तिले स्थानीय सरकार र प्रशासनमाथिको जनविश्वास निरन्तर घटिरहेको उहाँको टिप्पणी थियो । “सडक तातेपछि मात्रै मन्त्रीहरू जुर्मुराउने र स्थानीय प्रशासनलाई निकम्मा बनाउने शैलीले राज्यको विश्वसनीयता घटाएको छ,” उहाँले भन्नुभयो ।
जघन्य अपराधका घटनालाई दबाबपूर्ण रूपमा मिलापत्र गराउने प्रवृत्तिप्रति लक्षित गर्दै उहाँले त्यस्ता कार्यमा संलग्न मतियारलाई हदैसम्मको सजाय हुनुपर्ने माग गर्नुभयो ।