सामुद्रिक जैविक विविधता संरक्षणसम्बन्धी सम्झौता अनुमोदन प्रस्ताव सर्वसम्मतिले पारित

काठमाडौँ, असोज ६ ।  प्रतिनिधिसभाले राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका समुद्री क्षेत्रको सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता अनुमोदन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तावमाथिको छलफलका क्रममा सांसदहरूले उठाउनुभएका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले सम्झौताअनुसार आवश्यक कानुन निर्माणमा ढिलाइ नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौताको प्रभावकारी कार्यान्वयनका लागि समयमै आवश्यक कानुन निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले कानुन निर्माणका क्रममा प्राकृतिक विपत्तिलाई समेत प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । विधेयकको मस्यौदा तयार गर्दा आदिवासी जनजातिका मौलिक विषयलाई समेट्न सरकार तयार रहेको उहाँले स्पष्ट पार्नुभयो ।

मन्त्री गौतमले जलवायु परिवर्तन तथा वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि सम्झौता र कानुनका विषयमा संसद् एकमत भएर अघि बढेकोमा धन्यवाद व्यक्त गर्नुभयो । संसद् सार्वभौम संस्था भएकाले कानुन निर्माणका क्रममा दलीय सीमाभन्दा माथि उठेर विषयकेन्द्रित छलफल गर्दा गुणस्तरीय कानुन निर्माण गर्न सकिने उहाँको भनाइ थियो ।

सन्धि–सम्झौता सर्वसम्मतिले पारित हुनु संसद्को सकारात्मक अभ्यास भएको उल्लेख गर्दै उहाँले संसद्लाई वैचारिक रूपमा थप सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।

यसैबीच, प्रतिनिधिसभाको अर्को बैठक असोज ७ गते बुधबार बिहान ११ बजे बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *