स्वास्थ्य सेवाको पहुँच बढाउँदै कार्यवाहक प्रमुख डंगोल : परिवार नियोजनको अस्थायी सेवा विस्तार
काठमाडौँ, असोज ६ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको स्वास्थ्य सेवाको पहुँच विस्तार रणनीतिक योजना अनुसार महानगरका स्वास्थ्य प्रवर्धन केन्द्रबाट उपलब्ध दीर्घकालीन अस्थायी परिवार नियोजन सेवा थप विस्तार गरिने भएको छ । यसका लागि महानगरपालिकाले स्वास्थ्यकर्मीको क्षमता विकास गरी इम्प्लान्ट सेवा विस्तार गर्न पहिलो चरणको तालिम सुरु गरेको छ ।
महानगरपालिकाले परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालसँगको सहकार्यमा सुरु गरेको तालिममा वडा नं. ५, १७, २३, २६ र २७ का छ जना स्वास्थ्यकर्मी सहभागी छन् । परिवार नियोजनका सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले यस वर्ष दुई चरणमा स्वास्थ्यकर्मीलाई इम्प्लान्ट सेवासम्बन्धी तालिम प्रदान गरिने महानगरपालिकाको परिवार नियोजन, प्रजनन स्वास्थ्य तथा किशोरकिशोरी कार्यक्रमका फोकल पर्सन चन्द्रा भट्टले जानकारी दिनुभयो ।
महानगरपालिकाका अनुसार हाल वडा नं. १, ३, ५, ८, ९, १०, १४, १६, १९, २०, २५, २८, ३० र ३२ तथा रामघाट प्राथमिक सेवा केन्द्र गरी १५ स्थानबाट इम्प्लान्ट सेवा उपलब्ध भइरहेको छ । थप स्वास्थ्य प्रवर्धन केन्द्रमा सेवा विस्तार गर्न आवश्यक जनशक्ति तयार पार्ने काम भइरहेको छ ।
इम्प्लान्ट तत्काल गर्भधारण गर्न नचाहने वा दुई गर्भबीचको अन्तर कायम गर्न चाहने महिलाले प्रयोग गर्न सक्ने दीर्घकालीन अस्थायी गर्भ निरोधक साधन हो । स्वास्थ्यकर्मीको परामर्शपछि पाखुरामा राखिने यो साधन तीन वर्ष र पाँच वर्षसम्म प्रभावकारी रहने परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालको परिवार योजना एकाइकी इञ्चार्ज लीना महर्जनले बताउनुभयो ।
उहाँका अनुसार स्वास्थ्यकर्मीबाट आवश्यक परामर्श तथा स्वास्थ्य परीक्षणपछि मात्र इम्प्लान्ट राखिने भएकाले प्रयोगकर्ताको स्वास्थ्य अवस्था र आवश्यकताअनुसार उपयुक्त विधि छनोट गर्न सकिन्छ । यद्यपि, कारण नखुलेको रक्तस्राव भइरहेका महिलाले इम्प्लान्ट प्रयोग गर्न नहुने र छारे रोग भएका महिलाले पनि चिकित्सकीय परामर्शबिना प्रयोग गर्न नहुने उहाँले बताउनुभयो । उच्च रक्तचाप भएका महिलाले रक्तचाप नियन्त्रणमा राखी स्वास्थ्यकर्मीको परामर्शमा इम्प्लान्ट प्रयोग गर्न सक्ने उहाँको भनाइ छ ।
महानगरपालिकाले सेवा विस्तारसँगै स्वास्थ्यकर्मीको दक्षता अभिवृद्धिलाई प्राथमिकता दिएको छ । फोकल पर्सन भट्टका अनुसार इम्प्लान्ट सेवाका लागि यस वर्ष दुई चरणमा तालिम सञ्चालन हुनेछ । प्रत्येक चरणको तालिम आठ दिनको हुनेछ ।
राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट सूचीकृत इम्प्लान्ट तथा आईयूसीडी क्लिनिकल ट्रेनिङ सेन्टरमा मात्र यस्तो तालिम सञ्चालन गर्न सकिने व्यवस्था रहेको महानगरपालिकाले जनाएको छ । दक्ष स्वास्थ्यकर्मीको संख्या बढाउँदै महानगरका थप स्वास्थ्य प्रवर्धन केन्द्रबाट परिवार नियोजन सेवा उपलब्ध गराउने तयारी गरिएको छ।
ट्रेन्डिङ
सबैसम्बन्धित खबर
एआई मोडेल क्लडले पत्ता लगायो सीआरआईएसपीआरजस्तै नयाँ इन्जाइम प्रणाली : एन्थ्रोपिकको दाबी
