ताथलीकाे चट्टानी अभिलेखमा वृक्षारोपण, ९ विधाका ३० भन्दा बढी व्यक्तित्व सम्मानित
भक्तपुर, ६ असोज । चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित हलालगाउँकाे ऐतिहासिक चट्टानी अभिलेख परिसरमा बृहत् वृक्षारोपणसँगै समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याएका ३० भन्दा बढी व्यक्तित्व सम्मानित भएका छन् ।
वातावरण संरक्षण, स्थानीय ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षण र समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई प्रोत्साहन गर्ने उद्देश्यले भ्रष्टाचार विराेधी अभियन्ता तथा स्वतन्त्र पत्रकारसंघ नेपालका केन्द्रीय सदस्य प्रेमध्वज लामाकाे संयाेजन तथा रेडियाे जनसञ्चारले ‘बृहत् वृक्षारोपण तथा विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रम–२०८३’ आयोजना गरिएको हो ।
कार्यक्रममा समाजसेवा, पुरातात्विक तथा ऐतिहासिक संरक्षण, स्वास्थ्य, जनप्रतिनिधि, शिक्षा, सञ्चार, कानुन, खेलकुद तथा कला–साहित्य गरी नौ विधामा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले भक्तपुरका ऐतिहासिक सम्पदा तथा प्राचीन चट्टान अभिलेखको संरक्षणमा सरकारी तवरबाट आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वको सम्मानले सामाजिक सेवामा थप प्रेरणा मिल्ने बताउँदै सम्मानित सबैलाई बधाई दिनुभयो ।
जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्काले समाजको समग्र विकासका लागि स्वास्थ्य क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउँदै स्वास्थ्य क्षेत्रलाई समेत समेटेर योगदानकर्तालाई सम्मान गरिएकोमा उहाँले आयोजकप्रति आभार व्यक्त गर्नुभयो ।
पत्रकार महासङ्घ उपत्यका प्रदेशका कोषाध्यक्ष सञ्जिप ‘शुभचिन्तक’ले स्थानीय इतिहास, संस्कृति र सम्पदाको प्रचारप्रसारमा आधुनिक प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि स्थानीयवासी स्वयं सक्रिय हुनुपर्ने बताउनुभयो ।
पुरातत्वविद् विश्वमोहन जोशीले भक्तपुर पुरातात्विक तथा ऐतिहासिक दृष्टिले महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै सम्पदाको खोज, अध्ययन र संरक्षणमा राज्यसँगै नागरिकस्तरबाट पनि निरन्तर पहल आवश्यक रहेको बताउनुभयो ।
सम्मानित सामाजिक अभियन्ता डा. नवराज काफ्लेले निष्काम भावले गरिने सामाजिक कामको मूल्याङ्कन समाजले गर्ने बताउँदै सम्मानले सामाजिक सेवा र वातावरण संरक्षणमा थप जिम्मेवारीबोध गराएको उल्लेख गर्नुभयो ।
सामाजिक योगदानतर्फ प्रा.डा. सर्वज्ञभक्त मल्ल र प्रा. कोमलवदन मल्ल र डा. नवराज काफ्लेलाई सम्मान गरिएको छ । पुरातात्विक तथा ऐतिहासिक धरोहर संरक्षणतर्फ विश्वमोहन जोशी, लक्ष्मणजित मल्ल र समृद्धि मल्ल सम्मानित हुनुभयो ।
स्वास्थ्य सेवातर्फ अञ्जना खड्का र श्यामसुन्दर धौभडेललाई सम्मान गरिएको छ । उत्कृष्ट जनप्रतिनिधितर्फ चाँगुनारायण–९ का वडाध्यक्ष गणेश त्यातसहित वडा सदस्यहरू विद्यापति थापा, रविन बासुकला, कमला गिरी र सुमित्रा दर्जी सम्मानित हुनुभयो ।
शिक्षातर्फ हरिशरण दुलाल र सञ्जीव पुरीलाई सम्मान गरिएको छ भने सञ्चार क्षेत्रतर्फ सञ्जीव घिमिरे ‘शुभचिन्तक’, कृष्ण किसी, दिपेन्द्र श्रेष्ठ, अंजिर बिक, र सङ्गम लामालाई उत्कृष्ट सञ्चारकर्मी सम्मान प्रदान गरिएको छ ।
कानुन तथा न्याय सेवातर्फ रविन्द्र प्रधान र देवकुमार मोक्तान सम्मानित हुनुभयो । खेलकुदतर्फ कृष्णराम जाकीबञ्जार, सूर्यबहादुर लामा, केदार तुइतुइ र रामशरण रानालाई सम्मान गरिएको छ । त्यस्तै, कला तथा साहित्यतर्फ ईश्वर थोकर, हरिसुन्दर छुकां र विकास प्रहरलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रम जनसञ्चार टेलिभिजनका स्टेशन म्यानेजर सुरेशप्रसाद सैंजूको सभापतित्वमा सम्पन्न भएको थियो । नेपाल टेलिभिजनका पत्रकार अंजिरसिंह बिकले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रम संयोजक प्रेमध्वज लामाले सहभागी तथा अतिथिलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रममा भक्तपुरका सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रमुख, जनप्रतिनिधि, समाजसेवी, सञ्चारकर्मी तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको उपस्थिति रहेकाे थियो ।





