नेप्से परिसूचक २६०० विन्दु तल झर्यो, कारोबार रकम पनि ३ अर्ब २३ करोडमा सीमित
काठमाडौँ, ८ भदौ । साताको पहिलो कारोबार दिन सोमबार धितोपत्र बजारमा नेप्से परिसूचक १९.१३ अंकले ओरालो लागेको छ । कारोबार समयमा केही तल झरेको नेप्से अन्तिम समयमा २६०० को मनोवैज्ञानिक विन्दुभन्दा सामान्य तल झरेर २५९९.५८ विन्दुमा बन्द भएको हो । नेप्सेसँगै यस दिन सेन्सेटिभ इण्डेक्स ३.१७ अंक, फ्लोट इण्डेक्स १.३४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.११ अंकले घटेको छ ।
बजारमा परिसूचकाङ्क सँगसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो कारोबार दिन शुक्रबार ४ अर्ब १६ करोड रुपैयाँको शेयर खरिदबिक्री भएकोमा आज कारोबार रकम घटेर ३ अर्ब २३ करोड ९७ लाख ६० हजार रुपैयाँमा खुम्चिएको छ । आज ३५० कम्पनीका ८५ लाख ७२ हजार कित्ता शेयर ५३ हजार १५३ पटक किनबेच भएका छन् ।
आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेका छन् । जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.१९ प्रतिशतले घटेको छ । त्यस्तै, निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ भने अन्य उपसमूहहरूको गिरावट १ प्रतिशतभन्दा कम रहेको छ ।
बजार घटे पनि सर्वोत्तम पेन्ट्सको शेयरमा लगातार आठौँ कारोबार दिन सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य ११९ रुपैयाँ ६० पैसा बढेर ९१७ रुपैयाँ २० पैसा पुगेको छ । त्यस्तै, धौलागिरी लघुवित्तको शेयरमूल्य करिब १२ प्रतिशत र सिवाईसी लघुवित्तको मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । यता, पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्यमा भने सर्वाधिक ९.८३ प्रतिशतको गिरावट आएको छ ।
कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रह्यो । सो कम्पनीको १२ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, सोलु हाइड्रोपावरको करिब १२ करोड र साहस उर्जाको १० करोड ५० लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
