बाजाको धुनमा झुम्दै भक्तपुर : गाईजात्राको रौनकले फेरिएको बस्तीको लय
काठमाडौँ, भदौ ९ । साँझ छिप्पिँदै जाँदा भक्तपुरका साँघुरा गल्लीहरूमा अचेल एउटा छुट्टै ऊर्जा सञ्चार हुन्छ। टोल-टोलका ‘फल्चा’ (पाटी) र खुल्ला डबलीहरूमा बालबालिकादेखि युवाहरूसम्मको एउटै लय भेटिन्छ, परम्परागत बाजाको ताल र नाचको अभ्यास ।
नेवार समुदायको महान् सांस्कृतिक पर्व सापारु अर्थात् गाईजात्रा नजिकिएसँगै भक्तपुर यतिबेला ‘बाजामय’ बनेको छ । घण्टाकर्ण (गथामङ्गल) विसर्जन भएको भोलिपल्टदेखि नै यहाँ गाईजात्राको अनौपचारिक शङ्खघोष भइसकेको थियो । अहिले त भक्तपुरका पुराना बस्तीहरूमा धिमे, धाँ र बाँसुरीको धुन नगुञ्जिएको कुनै साँझ छैन ।
संस्कृति बचाउने युवा जोस
भक्तपुरको विशेषता नै यहाँको जीवन्त संस्कृति हो । पछिल्लो समय यो संस्कृतिलाई पुस्तान्तरण गर्ने लहर चलेको छ। टोल-टोलमा नवयुवाहरूलाई बाजा बजाउने र परम्परागत नाच नाच्ने प्रशिक्षण दिइँदैछ ।
भक्तपुर नगरपालिका-८ स्थित निओ फ्युजन बाजा समूहका अध्यक्ष सविन बनमालाका अनुसार, गाईजात्रामा नगर परिक्रमा गर्नुअघि प्रशिक्षार्थीहरूलाई ‘दीक्षान्त’ गराउने परम्परा छ । “हामीले सांस्कृतिक रूपमा जात्रालाई व्यवस्थित बनाउन हरेक वर्ष प्रशिक्षण दिँदै आएका छौँ,” बनमाला भन्नुहुन्छ, “अहिले घिन्तांगिसी र गाईजा नाचको तयारी तीब्र छ ।”
नेवार समुदायमा बाजा र नाच सिक्नेहरूका लागि आइतबार र बिहीबार विशेष दिन मानिन्छन् । यी दिनहरूमा विशेष पूजाअर्चना (नृत्यनाथ वा नासःद्योको पूजा) गरेर दीक्षान्त गराइन्छ । दीक्षान्तपछि उनीहरू टौमढीको पाँचतल्ले मन्दिर, दरबार स्क्वायर र दत्तात्रय जस्ता ऐतिहासिक स्थलहरूमा पुगेर आफ्नो कला प्रदर्शन गर्छन्, जसले नगरमा जात्रा आउनुअघि नै जात्राको झझल्को दिन्छ ।
गुँला पर्वको ओत र जात्राको तयारी
साउन २८ गतेदेखि सुरु भएको महिनादिन लामो ‘गुँला पर्व’ले भक्तपुरलाई पहिले नै आध्यात्मिक र साङ्गीतिक माहोलमा ढालिसकेको थियो । हरेक दिन बिहान सबेरै बाजागाजासहित मन्दिर परिक्रमा गर्ने परम्पराले नगरलाई गुञ्जायमान बनाइरहेकै बेला गाईजात्राको थप तयारीले भक्तपुरको रौनक दोब्बर बनाएको हो ।
ऐतिहासिक र सांस्कृतिक नगर भक्तपुरमा गाईजात्रा ८ रात ९ दिनसम्म मनाइन्छ। यस वर्ष भदौ १५ देखि १९ गतेसम्म जात्राका विशेष विधाको प्रदर्शनी हुनेछ । जात्राको मुख्य आकर्षण मानिने घिन्तांगिसी, माकः प्याखँ (बाँदर नाच) र व्यङ्ग्यात्मक नाटकहरूको तयारीका लागि कलाकारहरू रातको समयमा पनि अभ्यासमा जुटिरहेका देखिन्छन् ।
अमूर्त सम्पदाको संरक्षणमा नगरको सक्रियता
भक्तपुर नगरपालिकाले यहाँको कला र संस्कृतिलाई जीवित राख्न विशेष प्रोत्साहन दिँदै आएको छ। जात्रामा प्रदर्शन हुने बाजा र नृत्यको मूल्याङ्कन गरी पुरस्कृत गर्ने परिपाटीले स्थानीयमा उत्साह थपेको छ ।
वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व भन्नुहुन्छ, “नगरपालिकाले प्रतियोगिता गराउन थालेपछि स्थानीयमा आफ्नो अमूर्त सम्पदा र सांस्कृतिक नाचप्रति चासो र अपनत्व बढेको छ । यसले हाम्रो मौलिक पहिचानलाई अझ बलियो बनाएको छ ।” जात्रा अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने समूहहरूलाई विश्व पर्यटन दिवसको अवसर पारेर नगद पुरस्कारसहित सम्मानित गरिने परम्परा छ ।
भक्तपुरका बाटाघाटामा गुञ्जिरहेका यी धुनहरू केवल मनोरञ्जन मात्र होइनन्, यो त पुर्खाले सुम्पिएको नासोलाई नयाँ पुस्ताले गर्वका साथ काँधमा बोकिरहेको एउटा सुन्दर तस्बिर पनि हो । त्यसैले त अहिले भक्तपुरमा बज्ने हरेक ‘धिमे’को तालले भनिरहेको छ, हाम्रो संस्कृति, हाम्रो पहिचान ।