मलेसियाविरुद्ध नेपालको सानदार जित : आसिफ शेखको विष्फोटक १६१ रन, सन्दीपले लिए ४ विकेट

काठमाडौँ, ९ भदौ । मलेसियामा आयोजना हुने एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपाली टोलीले पहिलो अभ्यास खेलमा आयोजक मलेसियामाथि ९ विकेटको सानदार जित हात पारेको छ । मलेसियाको सेलाङ्गोर टर्फ मैदानमा आज भएको खेलमा ओपनर आसिफ शेखको विष्फोटक ब्याटिङ र कप्तान सन्दीप लामिछानेको घातक बलिङको मद्दतले नेपालले सहज जित निकालेको हो ।

जितका लागि मलेसियाले दिएको २३२ रनको लक्ष्य पछ्याउने क्रममा वर्षाले खेल प्रभावित भएपछि नेपालले ४८ ओभरमा २२८ रनको नयाँ लक्ष्य पाएको थियो । उक्त लक्ष्य नेपालले मात्र २८ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा ओपनर आसिफ शेखले सानदार ब्याटिङ गर्दै मात्र ८५ बलमा १६१ रनको योगदान दिए । उनले आफ्नो पारीमा १२ चौका र १२ छक्का प्रहार गरेका थिए । अर्का ओपनर अर्जुन कुमाल ६१ रनमा अविजित रहँदै टोलीलाई जिताए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३२ रन जोडेको थियो । मलेसियाका लागि मुहम्मद स्याहादात रामलीले ६१, सैफुल्लाह मलिकले ४५, साइद अजिजले ४० र विरानदीप सिंहले ३९ रन बनाए ।

मलेसियालाई मध्यम योगफलमा रोक्न नेपालका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए । त्यस्तै, करण केसीले २ विकेट झारे भने ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए ।

यही भदौ १४ गतेदेखि मलेसियामा सुरु हुने एसिसी प्रिमियर कपको तयारी स्वरूप नेपालले यो अभ्यास खेल खेलेको हो । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ, जहाँ मलेसिया, हङकङ, बहराइन र साउदी अरेबिया रहेका छन् ।

समूह ‘बी’ मा युएई, ओमान, कुवेत, कतार र सिङ्गापुर रहेका छन् । नेपालले आफ्नो पहिलो खेल आगामी भदौ १५ गते बहराइनसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।